
झापा । आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि झापाको दोस्रो पुरानो नगरपालिकाको रुपमा रहेको दमकले एक अर्ब ६२ करोड ७७ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट पेस गरेको छ ।
नगरपालिकाको १५ औं नगर सभामा उपप्रमुख रेगिना भट्टराई प्रसाईँले एक अर्ब ६२ करोड ७७ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट पेस गरेकी हुन् ।सो बजेट चालू आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ८.७२ प्रतिशतले बढी हो । उपप्रमुख प्रसाईँले वार्षिक नीति कार्यक्रमसहितको बजेट प्रस्तुत गरेको कार्यक्रममा नगर प्रमुख रामकुमार थापाले नगर सभाको अध्यक्षता गरेका थिए ।
नगर प्रमुख थापाले नेपाल सरकारबाट दमक नगरलाई प्राप्त हुनुपर्ने अनुदान रकममा भएको कटौती, आन्तरिक स्रोतबाट समेत अपेक्षाकृत राजश्व सङ्कलन गर्न नसकिएको स्वीकार गरेका छन् । उनले प्रविधिमैत्रीसहितको सुशासनको नीति अख्तियार गरिने उल्लेख गर्दै पूर्वाधार विकास र गुणस्तरीय शिक्षामा नागरिकको पहुँच अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएका छन् ।