२०८१ माघ २६, शनिवार , १०:०३:४६ बजे

Sajhamanch
'

झापामा ४७ हजार बालबालिकाले लगाए पोलियोविरुद्धको खोप

आइतवार, असार ९, २०८१

झापा । झापामा करिब ४७ हजार बालबालिकाले पोलियो रोगविरुद्धको आइपीभी खोप लगाएका छन् ।

पोलियो रोगविरुद्धको ‘राष्ट्रिय आईपीभी अभियान–२०८१’ अन्तरगत जिल्लाका १५ पालिकाका ४६ हजार आठ सय ८४ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक प्रकाश पाठकले जानकारी दिए। २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएर उक्त खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गरेर गत जेठ १६ गतेदेखि २६ गतेसम्म अभियान सञ्चालन भएको थियो ।

जिल्लामा लक्ष्यभन्दा बढी बालबालिकालाई खोप लगाइएको छ । ४५ हजार ६५० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहे पनि १ हजार २३४ जना बढी बालबालिकालाई खोप लगाइएको उनले बताए।

आइपीभी खोप अभियान अन्तरगत जिल्लाका पालिकामध्ये सबैभन्दा धेरै बिर्तामोड नगरपालिकामा १४५ प्रतिशत अर्थात् ८ हजार ११७ जना बालबालिकाले खोप लगाएका छन् भने सबैभन्दा कम भद्रपुर नगरपालिकामा ६१ प्रतिशत अर्थात् दुई हजार तीन सय १४ जना बालबालिकाले खोप लगाएका छन् । भद्रपुरमा ३ हजार ८९२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको थियो ।

त्यस्तै, अर्जुनधारा नगरपालिकामा ३ हजार ८५ (१०९ प्रतिशत), कनकाई नगरपालिकामा २ हजार ५८६ (११० प्रतिशत), गौरादह नगरपालिकामा ३ हजार ३८ (९८ प्रतिशत), दमक नगरपालिकामा ५ हजार ६९३ (११० प्रतिशत), मेचीनगर नगरपालिकामा ५ हजार २४६ (९४ प्रतिशत), शिवसताक्षी नगरपालिकामा ३ हजार ४९९ (१०४ प्रतिशत), कचनकवलमा १ हजार ७०२ (१०४ प्रतिशत), कमल गाउँपालिकामा २ हजार ४४२ (११७ प्रतिशत), गौरीगञ्ज गाउँपालिकामा १ हजार ७२७ (१०७ प्रतिशत), झापा गाउँपालिकामा १ हजार ९९४ (१०४ प्रतिशत), बाह्रदशी गाउँपालिकामा १ हजार ६२४ (८२ प्रतिशत), बुद्धशान्ति गाउँपालिकामा २ हजार ३२० (९९ प्रतिशत) र हल्दिबारी गाउँपालिकाले १ हजार ४५४ (८७ प्रतिशत) बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

जिल्लामा समग्रमा १०३ प्रतिशत प्रगति हासिल भएको कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले बताउनुभयो ।

खोप अभियानका लागि झापामा ५५२ खोप केन्द्र, ३७५ स्वास्थ्यकर्मी र ७५० जना स्वयम्सेवक परिचालित भएका थिए । सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मुलन गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित खबर