२०८१ पौष २५, बिहिवार , १२:५२:४५ बजे

Sajhamanch
'

आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको काममा अवरोध नगर्न आग्रह

आइतवार, असार ९, २०८१

भद्रपुर । भद्रपुर–६ स्थित आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको भौतिक पूर्वाधार विकासमा राजनीति गर्न खोज्दा बाधा सिर्जना भएको समितिका पदाधिकारीले दुःखेसो पोखेका छन् ।

२०८० चैतमा निर्वाचित भएको प्रतिष्ठानको पहिलो कार्यसमितिले जग्गा प्राप्ति तथा संग्रहालय भवन निर्माणको काम अगाडि बढाइरहँदा अध्यक्षका प्रत्यासी रहेका व्यक्तिले राजनीति गर्न खोजेपछि काममा अवरोध आएको भन्दै समितिले दुःखेसो व्यक्त गरेको हो ।

भद्रपुर–६ स्थित ओमप्रकाश गोयल कोलनी नजिकैको प्रतिष्ठानको भवन निर्माणका लागि धकेन्द्र राजवंशी, मलचन राजवंशी, कमल राजवंशी, धनमती तामाङ राजवंशी, अर्जुन विष्ट, गणेश अधिकारी र श्यामसुन्दर अग्रवालले एक/एक कठ्ठा गरी ७ कठ्ठा जग्गा दिएका थिए ।

प्रतिष्ठानको नाममा जग्गा प्राप्त भएपछि संग्रहालय बनाउन भद्रपुर नगरपालिकाले २० लाख रुपैयाँ बजेट अनुदान दिएपछि जग्गा घेरावारा र सडक निर्माण गरिएको प्रतिष्ठानका सचिव विवेक राजवंशीले जानकारी दिए ।

सचिव राजवंशीले नयाँ समितिले पदभार ग्रहण गरेपपछि संस्थालाई व्यवस्थित बनाइएको जानकारी दिँदै निर्वाचनमा पराजित भएको रिस समितिको काममा पोखेर राजनीति गर्नेका कारण प्रदेश सरकारबाट आएको २५ लाख रूपैयाँ गुमाउनुपर्ने अवस्था आएको बताए ।

सामाजिक संस्थाको रूपमा रहेको प्रतिष्ठानलाई फुटाउन केही व्यक्तिहरू राजनीतिक रङ दिएर समिति असफल भएको हल्ला फैलाएर कब्जा गर्ने रणनीतिमा रहेकाले सम्बद्ध पक्षलाई यथार्थ बुझ्न समितिका उपाध्यक्ष नन्दकुमार राजवंशीले आग्रह गरेका छन् ।

कोशी प्रदेश वन वातावण तथा पर्यटन मन्त्रालयले भाषिक, सांस्कृतिक उत्थानका लागि जातीय संग्रहालय निर्माणका लागि दिएको २५ लाख रुपैयाँ फिर्ता गराउन संस्थापन समितिमा रहेका तथा प्रथम अधिवेशनमा अध्यक्षमा पराजय व्यहोरेका व्यक्ति लाग्नु दुःखद भएको उनको भनाई छ ।

अध्यक्ष समनसिंह राजवंशीले भद्रपुरमा रहेका राजवंशी सम्बद्ध सबै संस्थाको सहमतिमा साझा संस्थाको रूपमा आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको गठन भएको जानकारी दिँदै एकतामाथि प्रहार गर्ने जो सुकै बहिस्कृतमा पर्ने चेतावनी दिए ।

भर्खर पाइला चाल्न लागेको संस्थाको विकासमा बाधा सिर्जना गरेर समिति असफल भएको हल्ला फिँजाउनेहरू जातीय उत्थानका बाधक रहेको उनको बुझाई छ ।

प्रतिष्ठानको ४ करोड ५० लाख रुपैयाँ लागतमा राजवंशी जातीय पहिचान झल्कने संग्रहालय निर्माणका लागि प्रदेश सरकार, संघीय सरकारसँग साझेदारी कार्यक्रम प्रस्ताव गरिसकिएकाले भद्रपुरलाई पर्यटकीय गन्तव्य बनाउन उल्लेख्य योगदान पुग्ने विश्वास अध्यक्ष राजवंशीको छ ।

भद्रपुर–६ का वडाध्यक्ष रतिया राजवंशीले निर्वाचनमा पराजित भएको रिस पोख्नेहरूले रोक्न खोजे पनि प्रतिष्ठानको उद्देश्य पूरा भएरै छाड्ने बताए । यसपटक २५ लाख रुपैयाँ गुमे पनि आगामी दिनमा करोडौं जोडेर संग्रहालय बनाएरै छाड्ने उनले प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित खबर