२०८१ माघ १४, सोमवार , ०४:३०:४३ बजे

Sajhamanch
'

पालिकाको योजना छनोटमा सक्रिय बन्न मातहत समिति र संगठनलाई कांग्रेस झापाको निर्देशन

शुक्रवार, असार ७, २०८१

बिर्तामोड । नेपाली कांग्रेस झापाले स्थानीय तहमा योजना छनोट गरी बजेट पुस्तिकामा समावेश गराउने कार्यमा क्रियाशील रहन पार्टीको पालिकास्तरीय समन्वय एवं सहजीकरण समिति र पार्टी संगठनलाई निर्देशन दिएको छ ।

सो पार्टीका झापा जिल्ला सभापति देउकुमार थेवेको सभापतित्वमा शुक्रवार सम्पन्न बैठकले स्थानीय तहको नीति निर्माण एवं बजेट तर्जुमा कार्य भइरहेकाले वडा र नगरस्तरका योजनाहरु बजेटमा समावेश गराउने कार्यमा क्रियाशील हुन निर्देशन दिएको पार्टी जिल्ला उपसभापति शेरबहादुर भट्टराइले बताए ।

स्थानीय तहमा असार १० भित्र नीति तथा योजना पेश गर्नुपर्ने र असार २५ भित्रमा बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । पालिकाहरुमा नीति तथा वार्षिक कार्ययोजना र बजेटका लागि योजनाहरु छनोट भइरहेका बेला कांग्रेस झापाले यस्तो निर्देशन दिएको हो ।

बैठकले विपदमा परेका जनताको उद्धार, राहत एवं पुनस्र्थापनामा खटिन सबै तहका नेता कार्यकर्ता एवं भ्रातृ संस्थाहरुलाई आह्वान गरेको छ ।

वर्षादका समयमा झापा भएर बग्ने नदी र खोलाहरुबाट डुबान र कटानका कारण नागरिकहरुले भौतिक एवं मानवीय क्षति तथा विस्थापनसम्मका घटना व्यहोर्नुपरेकोप्रति सचेत रहँदै उद्धार, राहत र पुनस्र्थापनमा यथासक्य सहयोग गर्न सबै तहका नेता–कार्यकर्तालाई आह्वान गरेको कांग्रेस जिल्ला उपसभापति केशवराज पाण्डेले जानकारी दिए ।

बैठकले आगामी भदौ १५ गतेभित्र पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्पन्न गरी जिल्लामा सिफारिश गरिसक्न मातहत तहमा सर्कुलर गर्ने निर्णय गरेको छ ।

जस अन्तर्गत वडा तहमा आगामी साउन २० गतेसम्ममा क्रियाशील सदस्यता नवीकरण सम्पन्न गर्न आह्वान गरेको बैठकले साउन मसान्तसम्ममा नगरबाट प्रदेशसभा क्षेत्रमा, भदौ सातासम्ममा प्रदेशसभा क्षेत्रबाट क्षेत्रीय समितिमा र भदौ १५ भित्र क्षेत्रीय समितिबाट जिल्ला समितिमा क्रियाशील सदस्यता नवीकरण गरी सिफारिश गरिसक्न आह्वान गरेको जिल्ला सचिव कृष्ण हुमागाईंले जानकारी दिए ।

सम्बन्धित खबर