२०८१ माघ १३, आइतवार , ०४:००:०२ बजे

Sajhamanch
'

जनपक्षीय नेता क्षेत्रीको स्मृति दिवसमा पत्रकारिताको अवसर र चुनौतिबारे छलफल

शुक्रवार, असार ७, २०८१

बिर्तामोड । जनपक्षीय नेता द्रोणाचार्य क्षेत्रीको ३१ औं स्मृति दिवसमा झापाको पत्रकारितामाथि चर्चा गरिएको छ ।

प्रेस चौतारी झापाले बिहीवार बिर्तामोडमा आयोजना गरेको स्मृति दिवसमा पत्रकारिताको अवसर र चुनौतिबारे चर्चा गरिएको हो ।

प्रेस चौतारीको कार्यालयमा आयोजित कार्यक्रममा जनपक्षीय नेता द्रोणाचार्य क्षेत्री कुशल राजनीतिज्ञ, पत्रकार तथा लेखक भएको परिचर्चा गरिएको थियो ।

त्यसक्रममा वक्ताहरुले इमान्दार नेताको छवि बनाएका क्षेत्रीबाट अहिलेका नेता र पत्रकारहरुले धेरै कुराहरु सिक्न बाँकी रहेको धारणा राखेका थिए ।

अग्रज पत्रकार माधव विद्रोही र मोहन काजीले द्रोणाचार्य क्षेत्रीको जीवनबाट आफूले सिकेका असल गुणहरु सुनाउँदै नयाँ पुस्ताका लागि क्षेत्री असल सिकाईको स्रोत हुने बताए ।

त्यसक्रममा पत्रकारिताको अवसर र चुनौति विषयक छलफलमा सहभागी अधिकांश पत्रकारहरुले पाठक तथा स्रोताको अपेक्षा अनुरुपको पत्रकारिता नभएको विचार राखेका थिए ।

पुरातनवादी शैलीबाट अब पत्रकारिता अघि बढ्न नसक्ने भन्दै उनीहरुले नयाँ प्रविधि र सीप आवश्यक रहेको धारणा राखेका थिए । स्थानीय तहहरुले स्थानीय सञ्चार माध्यमलाई संरक्षण गर्ने गरी नीति निर्माण गर्नुपर्ने अधिकांशको माग थियो ।

कतिपय स्थानीय तहले सञ्चार संस्थालाई बेवास्ता गर्दा चुनौति थपिएको वक्ताको भनाई थियो । पत्रकार पुष्प बरालले पत्रकारिताप्रति नागरिकको विश्वास गुम्दै गएकाले पत्रकारितालाई सुधार गर्नुपर्ने बताए ।

पछिल्लो समय मिडियामा विज्ञापन नै चुनौति भएको बताउँदै उनले विज्ञापन अभाव हुँदा मिडिया क्षेत्रमा समस्या बढेको बताए । पत्रकार हिमाल खरेलले डिजिटल मिडियामा जोड दिनुपर्ने बताउँदै समयानुकूल मिडिया सञ्चालन गर्नुपर्ने धारणा राखे ।

यस्तै, पत्रकार एकराज प्रधानले स्थानीय तहसँगै नीजि क्षेत्रबाट पनि स्रोतको खोजी गर्नुपर्ने बताए । उनले मिडिया सञ्चालनमा नीजि क्षेत्रको योगदान हुनुपर्ने बताए ।

पत्रकार सुब्रत न्यौपानेले स्थानीय मिडिया संरक्षणको नीति निर्माण गर्नुपर्ने बताउँदै नीति नबनाएसम्म मिडियाको संरक्षणमा चुनौति हुने विचार राखे ।

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षता र जिल्ला इन्चार्ज सन्तोष आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकारहरु गोपाल काफ्ले, अर्जुन कार्की, प्रदीप परियार, रामप्रसाद निरौला, राह्यारी राजवंशी लगायतले धारणा राखेका थिए ।

शुक्रवार, असार ७, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर