२०८१ पौष २८, आइतवार , ११:४४:३६ बजे

Sajhamanch
'

प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै महासंघले भन्योः दूधको बक्यौता तत्काल भुक्तानीको व्यवस्था गरियोस्

बिहिवार, असार ६, २०८१

भद्रपुर । दुग्ध किसानहरुको बक्यौता रकम तत्काल भुक्तानी पाउने व्यवस्था मिलाउन माग गर्दै नेपाल किसान महासंघ झापाले प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र पठाएको छ ।

महासंघका अध्यक्ष रतन थिङ्लावोको नेतृत्वमा गएको किसानहरुको टोलीले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलामार्फत ज्ञापनपत्र पठाएको हो ।

विभिन्न ११ सूत्रीय माग राखेर बुझाइएको ज्ञापन पत्रमा किसानले उत्पादन गरेको सबै दूध खरीद गरी मिल्क होलिडेको अन्त्य गरिनुपर्ने, उत्पादनका आधारमा दिइँदै आइएको अनुदान कार्यक्रम पुनः सञ्चालनमा ल्याइनुपर्ने, सहुलियत कृषि ऋण र पशु बीमा अनुदान कार्यक्रम परिणाममुखी बनाइनुपर्ने, कृषि बीमामा सरकारका तर्फबाट दिइने अनुदान तत्काल उपलब्ध गराएर किसानलाई बीमा बापतको रकम पाउने अवस्था सिर्जना गर्न माग गरिएको छ ।

नेपाललाई खोरेत रोगमुक्त देश घोषणा गरी अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन पुर्याउनुपर्ने, दुग्धजन्य पदार्थको आयात रोकेर आत्मनिर्भर बनाउन पहल गर्नुपर्ने, पाउडर दूध उत्पादन केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, नेपालको आन्तरिक खपत आन्तरिक उत्पादनबाटै गर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने, लम्पी स्किन रोगबाट पशुको क्षति व्यहोरेका किसानलाई तत्काल अनुदान दिइनुपर्ने, बर्खे धानको उचित मूल्य तोकी सरकारले नै खरिद गर्ने व्यवस्था मिलाउन ज्ञापनपत्रमा माग गरिएको छ ।

सरकारले तत्काल सम्बोधन गर्नुपर्ने उक्त मागहरु पूरा नभए सडक आन्दोलनमा निस्कन बाध्य हुने चेतावनी दिँदै ज्ञापनपत्रमा किसानहरुको समुन्नतिले मात्रै समग्र राष्ट्रको समुन्नति हुनेतर्फ सरकारलाई सचेत गराइएको छ ।

दुग्ध उत्पादक किसानहरुको समस्या समाधान गरेर यस क्षेत्रलाई धरासायी बन्न नदिन प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदै ज्ञापनपत्रमा कृषि ऋण कटौती नगर्न पनि आग्रह गरिएको छ ।

सम्बन्धित खबर