२०८२ जेठ ११, आइतवार , १२:०४:३३ बजे

Sajhamanch
'

मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड राजस्व संकलन

बुधवार, असार ५, २०८१

बिर्तामोड। मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व संकलन गरेको छ ।

भन्सार कार्यालयले चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा लक्ष्यको ७७ दशमलव ५७ प्रतिशत राजस्व संकलन गरेको हो ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ३.६१ प्रतिशतले घट्दा निर्यात भने १०.७६ प्रतिशतले वृद्धि भएको छ ।

उनका अनुसार काँकरभिट्टा भन्सारबाट ४० अर्ब ७९ करोड ६१ लाख ७२ हजारको मालवस्तु आयात हुँदा २२ अर्ब २१ करोड ९० लाख १० हजारको मालवस्तु निर्यात भएको छ ।

चालु आर्थिक वर्षको जेठसम्म गत आर्थिक वर्षको तुलनामा निर्याततर्फ छुर्पी ६५.२९ प्रतिशत, प्लाउड ५६.३३ प्रतिशत, अदुवा ३५.४५ प्रतिशत, अम्रिसो ३१.३४ प्रतिशत र भेनियस सिट १२.५७ प्रतिशतले वृद्धि भएको सूचना अधिकारी कँडेलले जानकारी दिए । अलैँची २.६१ प्रतिशत र चिया १३.४२ प्रतिशतले निर्यात घटेको उनले बताए ।

यसैगरी, पेट्रोल, फलामका सामग्री र विद्युतीय उपकरणलगायत आयातमा सामान्य वृद्धि हुँदा डिजेल, हवाई इन्धन, तरकारी, जुट, जिप्सम, कपडा, एलपिजीलयायत सामग्री आयात भने गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा घटेको छ ।

काँकरभिट्टा नाकाबाट आयात हुने पेट्रोल, डिजेल, जुट र जुटबाट बनेका सामान, खाना पकाउने ग्यास, सबै प्रकारका तरकारी, जिप्सम, अलकिड रेजिन, सबै प्रकारका कपडा तथा फलफूल (जुससमेत), भेनियस सिटलगायत छन् ।

यो नाकाबाट अलैँची, फलामका पाता, प्लाइउड, चिया, छुर्पी, अम्रिसो, अदुवा, सुठो, धातुका अन्य अवशेष, भेनियस सिट, क्लिंकरलगायत सामग्री निर्यात हुने गरेका छन् ।

सम्बन्धित खबर