कमल । कमल गाउँपालिकामा सम्पन्न दोस्रो अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिता–२०८१ को उपाधि शनिश्चरे फुटबल क्लबले जितेको छ ।
रोलिङ क्लब धुलाबारीलाई शून्यका विरुद्ध १ गोल गर्दै शनिश्चरे फुटबल क्लबले उपाधि जितेको हो । प्रतियोगिताको निर्धारित समयसम्म दुवै टीम पाएको अवसर गुमाउँदै गोलरहित बराबरीको अवस्थामा पुगेका थिए ।
दोस्रो हाफको अतिरिक्त समयमा शनिश्चरे फुटबल क्लबका जर्सी नम्बर ९ का रिकेश श्रेष्ठले गरेको गोलनै जितका लागि निर्णायक बन्यो ।
विजयी बनेसँगै शनिश्चरे फुटबल क्लबले नगद २ लाखसहित शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेता भएको रोलिङ क्लबले नगद १ लाख रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।
प्रतियोगितामा उत्कृष्ट गोलकीपर अनुप तामाङ, वेष्ट डिफेन्डर प्रज्ज्वल न्यौपाने, वेस्ट मिडफिल्डर रोमन भूजेल, हाईस्कोरर अमित देशरा, वेष्ट स्टाईगर श्याम मुर्मू र वेस्ट टुर्नामेन्ट विशाल दर्जीले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाएका थिए ।
“खेलकुद हाम्रो सम्पत्ति, कमल गाउँपालिकाको उन्नति” भन्ने नारासहित सो प्रतियोगिता कमल–३ स्थित केर्खा खेल मैदानमा आयोजना गरिएको थियो ।