२०८१ माघ २४, बिहिवार , ०६:३२:३० बजे

Sajhamanch
'

कचनकवलमा सुविधा सम्पन्न पशु अस्पताल निर्माण हुँदै

शुक्रवार, जेठ ३२, २०८१

कचनकवल। झापाको कचनकवल गाउँपालिकामा सुविधा सम्पन्न पशु अस्पताल धमाधम निर्माण भइरहेको छ ।

कोशी प्रदेश सरकारको ४० लाख र गाउँपालिकाको ४ लाख गरी ४४ लाख रुपैयाँको लगातमा सुविधा सम्पन्न पशु अस्पताल निर्माण भइरहेको गाउँपालिकाका पशु शाखा प्रमुख मसिन्द्र यादवले जानकारी दिए।

हाल गाउँपालिकाले पशुपंक्षी तथा मत्स्य विकाश शाखा र कचनकवल–३ स्थित पशु अस्पतालबाट सेवा दिँदै आएको छ । गत पुस महिनादेखि भाडाको भवनबाट सेवा दिँदै आइएकोमा चालू आर्थिक वर्षभित्रै आफ्नै भवनमा सञ्चालन गर्ने लक्ष्य रहेको जनाइएको छ ।

पशु अस्पतालको मापदण्ड अनुसार सेवा दिने योजनाका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशीले बताए। “समयमै पशुको उपचार गर्न नसक्दा किसानलाई धेसै समस्या भइरहेको छ”, उनले भने, “अस्पताल निर्माण भएपछि पशुपालक कृषकलाई सहयोग मिल्ने विश्वास छ ।”

नयाँ पशु अस्पतालबाट पशुको स्वास्थ्य जाँचदेखि प्रयोगशालासम्मको सेवा उपलब्ध हुने पशु शाखाका नायब पशु स्वास्थ्य प्राविधिक हेमराज पौडेलले बताए। पशु अस्पतालबाट पशु चिकित्सक एक जना र नायब पशु प्राविधिक दुई जनाले सेवा दिँदै आएका छन् ।

कृषकलाई पशुपालनमा प्रोत्साहन गर्न गाउँपालिकाले निःशुल्क औषधि, पशु बिमा, कृत्रिम गर्भाधान, खोप लगायतका सेवा निःशुल्क उपलब्ध गराउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र सुमनले बताए। कृषिकलाई अझ प्रोत्साहित गर्नका लागि आगामी आर्थिक वर्षमा समेट्नुपर्ने विषयहरुका बारेमा सुझाव लिने काम पनि भइरहेको उनले बताए।

शुक्रवार, जेठ ३२, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर