२०८१ पौष २६, शुक्रवार , ०६:३१:०६ बजे

Sajhamanch
'

रोङ गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई घरमै स्वास्थ्य सेवा

बिहिवार, जेठ ३१, २०८१

इलाम । इलामको रोङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै स्वास्थ्य जाँच गर्न शुरु गरेको छ ।

शारीरिक अवस्थाकै कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका व्यक्तिहरुलाई गाउँपालिकाले घरमै स्वास्थ्य सेवा दिन थालेको हो ।

मेची अस्पतालका डाक्टर नविन भूजेलसहित गाउँपालिकाको टोलीले सार्वजनिक बिदाको दिन अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर सेवा दिँदै आएको छ ।

सो पालिका उपाध्यक्ष विष्णुमाया भूजेलका अनुसार उनीहरुको स्वास्थ्य परीक्षणसँगै अपाङ्गता भएका व्यक्तिका लागि प्रयोगमा ल्याइएको रातो, निलोसहितका कार्ड र विभिन्न सामग्री समेत हस्तान्तरण गरिएको छ ।

रोङका सबै वडाका अपाङ्गता भएका व्यक्तिका घरमै पुगेर उनीहरूको आवश्यकता अनुसार ह्वील चेयर र स्लिपिङ ब्याग समेत हस्तान्तरण गरिएको उनले बताइन् ।

गाउँपालिकाले यसवर्ष ४ लाख रुपैयाँ बराबरका सामग्री अपाङ्गता भएका व्यक्तिहरूलाई उपलब्ध गराएको छ । उक्त पालिकामा ३ सय ६५ जना अपाङ्गता भएका व्यक्ति छन् ।

तीमध्ये ३६ जनाको रातो कार्ड र ६५ जनाको सेतो कार्ड रहेको गाउँपालिकाले जनाएको छ ।

बिहिवार, जेठ ३१, २०८१ | समाज, स्वास्थ्य