२०८१ साउन ११, शुक्रवार , ०३:३६:४९ बजे

Sajhamanch
'

दुर्घटनामा परी घाइते भएका बिर्तामोडका श्रेष्ठको चार महिनापछि मृत्यु

मङ्गलवार, जेठ २९, २०८१

बिर्तामोड । करिब चार महिनाअघि सवारी दुर्घटनामा परी घाइते भएका बिर्तामोडका अंशु श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ । बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचारका क्रममा आइतबार बिहान ७ बजे बिर्तामोड ४ निवासी १६ वर्षीय श्रेष्ठको मृत्यु भएको हो । गत माघ १२ गते अन्दाजी साँझ ५:४५ बजेको समयमा बिर्तामोड ३ दुर्गा पाटी प्यालेस छेउस्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गइरहेको प्र१–०१–००१च ७१५३ नम्बरको कार र विपरीत दिशातर्फ आउँदै गरेको मे ६प १६१२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड ४ बस्ने १८ वर्षीय सचिन खतिवडा र सोही मोटरसाइकलको पछाडि सवार बिर्तामोड ३ बस्ने १९ वर्षीय कलिस लिम्बू सकुशल रहेका थिए भने सोही मोटरसाइकलको पछाडि सवार अंशु को खुट्टामा चोट लागेर सामान्य घाइते भएका थिए । उनलाई उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोड पुर्‍याएर सामान्य उपचारपश्चात् डिस्चार्ज भई घर ल्याइएकोमा राति समस्या परेपछि थप उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएको थियो । माघ १३ गते इलाका प्रहरी कार्यालय बिर्तामोडमा खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिगई कार र कार चालक बिर्तामोड ५ बस्ने ३० वर्षीय विशाल बिकलाई नियन्त्रणमा लिएको थियो ।

जेठ १० गते घाइते अंशुलाई थप उपचारको लागि बीएण्डसी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा आइतबार बिहान ७ बजे उनको मृत्यु भएको हो । घटनाको जानकारी प्राप्त भएपश्चात् कार चालक विकलाई नियन्त्रणमा लिन समन्वय भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मङ्गलवार, जेठ २९, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर