२०८१ पौष २७, शनिवार , ०५:१९:३९ बजे

Sajhamanch
'

बिर्तामोड नगरपालिकाले दियो याग्राङ्ग सिङ्ग कृषक समूहलाई बाख्रा

सोमवार, जेठ २८, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ६ मा बाख्रा वितरण गरेको छ ।

नगरको मेयर पकेट प्याकेज ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई सोमवार बाख्रा वितरण गरिएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईंले याग्राङ्ग सिङ्ग कृषक समूहलाई ४५ वटा पाठी र एउटा बोयर जातको बीउ बोका वितरण गरेकी हुन् ।

समूहमा आबद्ध १५ जनाले तीन–तीन वटाका दरले बाख्रा प्राप्त गरेका छन् । उक्त कार्यक्रम अन्तर्गत बाख्रा प्राप्त गरेको समूहले एक वर्षपछि त्यतिनै संख्यामा बाख्रा अर्को समूहलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ ।

सोमवार बाँडिएका बाख्रा वडा नम्बर ८ स्थित किशान भिट्टा व्यावसायिक तथा पशुपालन कृषक समूहबाट उपलब्ध गराइएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ यता ७ सय २१ वटा बाख्रा वितरण गरिसकेको छ ।

त्यस्तै, सोही अवधिमा २ सय ४० वटा खोर पनि निर्माण गरीदिएको छ । बाख्रा वितरण गरेपछि नगरपालिकाले खोर निर्माणसँगै बीमा, खोप, सिजनको घाँस र औषधि उपचारमासमेत सहयोग गर्दै आएको छ ।

बाख्रा वितरणपछि नगरप्रमुख प्रसाईंले ग्रामीण महिलाहरुको आर्थिक उपार्जनका लागि सञ्चालन गरिएको बाख्रा साटासाट कार्यक्रम प्रभावकारी बनेको बताइन् ।

उनले स्थानीय सरकारको अभ्यास शुरु भएसँगै सञ्चालित बाख्रा, बंगुर साटासाट कार्यक्रमले नगरपालिकाको लक्ष्य प्राप्त गरिरहेको प्रतिक्रिया दिइन् ।

महिलाहरुले बाख्रा पाल्न थालेपछि छोराछोरीको शिक्षा, चाडपर्व र घर खर्च चलाउन सघाउ पुगेको भन्दै नगरप्रमुख प्रसाईंले बाख्रालाई राम्रो पालनपोषण गरेर मनग्य आम्दानी गर्न आग्रह गरेकी छन् ।

बिर्तामोडमा १५ वटा महिला कृषक समूहले बाख्रा पालिरहेका पशुपक्षि तथा मत्स्य विकाश शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् । सो कार्यक्रम अन्तर्गत कृषकहरुले वार्षिक ६० हजार देखि ३ लाख रुपैयाँसम्म आम्दानी गरेका उनको भनाई छ ।

नगरले सुरुवातमा २ लाख ६५ हजार रुपैयाँ लगानी गरेर बाख्रा खरिद गरी मेयर पकेट अन्तर्गत बाख्रा साटासाट कार्यक्रम अघि बढाएको थियो ।

आर्थिक विकास समिति संयोजक संगीता शिवाको अध्यक्षतामा भएको बाख्रा वितरण कार्यक्रममा स्थानीय विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।

सम्बन्धित खबर