२०८१ माघ १२, शनिवार , ०८:२४:५२ बजे

Sajhamanch
'

हल्दिबारी–३ देउनियामा निर्माणाधीन आर्यघाट अन्तिम चरणमा, व्यवस्थित घाट हुँदा दाहसंस्कार कार्य सहज हुने विश्वास

शनिवार, जेठ २६, २०८१

भद्रपुर । वर्षा याममा दाहसंस्कार गर्न निकै कठिनाइ भोगिरहेका हल्दिबारी गाउँपालिका–३, ४ र ५ नम्बर वडावासीले अब राहत पाउने भएका छन् ।

हल्दिबारी–३ स्थित रङ्गेडाडा देउनिया खोलामा निर्माणाधीन आर्यघाट सम्पन्न हुन लागेकाले दाहसंस्कार कार्यमा स्थानीयले राहत पाउने भएका हुन् ।

कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत चालु आर्थिक वर्षमा २४ लाख रुपैयाँ बजेट निकासा भएपछि आर्यघाटको निर्माण तीव्र गतिमा भइरहेको बताइएको छ ।

सो आर्यघाटका लागि आवश्यक बजेट पहल र विनियोजन गर्न प्रदेशसभा सदस्य छविलाल चुडालको महत्वपूर्ण योगदान रहेको उपभोक्ता समितिका पदाधिकारी बताउँछन् ।

प्रदेशसभा सदस्य चुडालले सामाजिक उत्तरदायित्व अन्तर्गत २४ लाख रुपैयाँ निकासा गराएका छन् भने देउनिया खोला मलामी घाट निर्माण समिति मार्फत उपभोक्ताको २ लाख ७४ हजार २४४ रुपैयाँ गरी कूल २६ लाख ७५ हजार २४४ रूपैयाँमा घाट निर्माणको काम धमाधम भइरहेको समितिका सचिव अर्जुनप्रसाद गिरीले जानकारी दिए ।

उनका अनुसार घाट निर्माण सम्पन्न भएपछि हल्दिबारी गाउँपालिका–३, ४ र ५ (साविक जलथल गाविस) का बासिन्दालाई दाहसंस्कारमा सहज हुने छ ।

केही वर्षअघि हल्दिबारी–२ देउनिया खोलामा बनाउन थालिएको आर्यघाट निर्माण कार्य पूरा नभइ अलपत्र परेपछि प्रयोगमा आउन नसकेको स्थानीयको भनाई छ ।

हल्दिबारीमा व्यवस्थित आर्यघाट नभएपछि बर्खाका बेला समस्या झेल्नुपरिरहँदा स्थानीयवासीसमेत रहेका प्रदेशसभा सदस्य चुडालको पहलमा बनिरहेको घाट असार २० सम्ममा तयार गर्ने गरी काम भइरहेको उपभोक्ता समितिका सचिव गिरीले बताए ।

“आर्यघाट बनाउने काम चित्तबुझ्दो पारामा भइरहेको रहेछ” घाट निर्माणस्थलको अनुगमन गर्न पुगेका प्रदेशसभा सदस्य चुडालले भने, “उपभोक्ताको काम प्रशंसायोग्य छ ।”

सम्बन्धित खबर