२०८१ माघ १२, शनिवार , ०२:४३:५६ बजे

Sajhamanch
'

चेस ओलम्पियाडमा छनोट भए झापाका तीन खेलाडी, सुवेदी नयाँ च्याम्पियन

बिहिवार, जेठ २४, २०८१

बिर्तामोड । नेशनल चेस च्याम्पियनसिप–२०२४ को पुरुषतर्फ झापाका राजन सुवेदी नयाँ च्याम्पियन भएका छन् ।

उपाधिसँगै उनी हंगेरीमा सेप्टम्बर ९ देखि २३ सम्म हुने ४५ औँ चेस ओलम्पियाड–२०२४ का लागि छनोट भएका छन् । अर्का झापाली सुश्रुत दाहाल र फिडे मास्टर (एफएम) क्षितिज भण्डारीले समान ७.५ अंक हात पारेर शीर्ष तीनमा रहे ।

समान अंक भए पनि ‘हेड टु हेड’ का आधारमा सुश्रुत उपविजेता भए । अन्तिम चरणमा सुश्रुतले १५१ रेटिङमाथिका पुरुषोत्तम सिलवाललाई पराजित गर्दै राष्ट्रिय प्रतियोगितामा पहिलो सहभागितामै ओलम्पियाडमा स्थान बनाएका हुन् ।

झापाकै प्रकाशचन्द्र नेपाल ६.५ अंकसहित चौथोमा रहे भने पुरुषोत्तम सिलवाल र गत वर्षको विजेता रुपेश जयसवालले ६–६ अंक बनाए ।

यसपालिको च्याम्पियनसिपमा महिलातर्फकी विजेता सिन्दिरा जोशीलाई अन्तिम चरणमा पराजित गरेकी झापाकी कृतिसरा अधिकारी उपविजेता भइन् । सिन्दिराले ९, कृतिसराले ८.५ अंक बनाए ।

पूजा भण्डारी र शान्ति धिमाल समान ८ अंकसहित शीर्ष चारमा रहे । यी चार खेलाडी ओलम्पियाड खेल्ने नेपाली महिला टीममा छनोट भएका नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राईले बताए ।

६ दिनसम्म सञ्चालन भएको च्याम्पियनसिपमा छनोट भएका उत्कृष्ट १२ पुरुष र १२ महिला खेलाडीले प्रतिस्पर्धा गरे । राउन्ड रोबिन लिगका आधारमा प्रत्येक खेलाडीले ११–११ खेल खेलेका थिए ।

च्याम्पियनसिपमा खुला र महिलातर्फका विजेताले समान २५ हजार, उपविजेताले १५ हजार र तृतीय स्थान हात पार्ने खेलाडीले १० हजार रुपैयाँ हात पारे ।

प्रतियोगिता लुम्बिनी इभेन्ट्स म्यानेजमेन्ट र नेपाल बुद्धिचाल महासंघले आयोजना गरेका हुन् ।

सम्बन्धित खबर