भद्रपुर । विश्व वातावरण दिवशको सन्दर्भ पारेर चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा एक हजार बिरुवा रोपिएको छ ।
वातावरण संरक्षण कार्यक्रम अन्तर्गत चन्द्रगढी वन क्षेत्रभित्र पर्ने ऐतिहासिकस्थल चन्द्रगढ क्षेत्रको लगभग २ बिघा क्षेत्रफलमा विभिन्न जातका एक हजार बिरुवाहरु रोपिएको हो ।
वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले स्वच्छ वातावरणका लागि वन जंगलको संवर्द्धन र संरक्षण गर्नुपर्ने बताए ।
समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता एवं सचिव पार्वती मल्लको सञ्चालनमा भएको कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राई, भद्रपुर नगर उपप्रमुख राधा कार्की लगायतले मन्तव्य राखेका थिए ।
सो अवसरमा समूहमा आबद्ध उपभोक्ता, आसपासका विभिन्न विद्यालय तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिको सहभागिता थियो ।