२०८१ पौष २६, शुक्रवार , १२:४०:१७ बजे

Sajhamanch
'

सुपारी कृषकलाई हौसला थप्न मेचीनगरले ल्यायो अनुदान कार्यक्रम

बुधवार, जेठ २३, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले सुपारी खेतीमा संलग्न कृषकलाई हौसला थप्दै खेती विस्तारतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम ल्याएको छ ।

नगरपालिकाले सुपारी खेती गर्ने किसान र कृषक समूहलाई ८० प्रतिशत अनुदान उपलब्ध गराएर नगरमा सुपारी खेती विस्तार गर्न बेर्ना उत्पादन कार्यक्रम ल्याएको हो ।

मेचीनगरसहित जिल्लाका अन्य पालिकामा समेत राम्रो नगदेबालीको रूपमा रहेको सुपारी खेतीतर्फ किसानलाई आकर्षित गर्दै त्यसतर्फ प्रोत्साहन गर्न नगरपालिकाले बजेट विनियोजन गरेको छ ।

किसानसँग प्रत्यक्ष जोडिएर उनीहरूको आर्थिक स्तरोन्नतिमा टेवा पुर्याउने उद्देश्यले नगरपालिकाले कृषि क्षेत्रमा लगानी गरिरहेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकी बताउँछन् ।

“सुपारी खेती बढाउन बेर्ना उत्पादन कार्यक्रम पनि छ, कृषकलाई उत्पादनमूलक क्षेत्रमा जोडेर आत्मनिर्भर बनाउने प्रयत्न गरेका हौं” “उनी भन्छन्, यसो गर्दा कृषि क्षेत्र र कृषक वर्ग जोगिन्छन् भन्नेमा स्थानीय सरकार सचेत छ ।”

नगरपालिकाले सुपारी खेती विस्तारका लागि बेर्ना उत्पादन कार्यक्रम अन्तर्गत मेचीनगर–१ को बासेस्थित मेची कृषक सुपारी समूहलाई ८० प्रतिशत अनुदान कार्यक्रममार्फत नगद दुई लाख रूपैयाँ विनियोजन गरेको छ ।

मेची कृषक किसान समूहले उक्त कार्यक्रम शुरू गरिसकेको छ । सो कार्यक्रमको उद्घाटन नगरप्रमुख बुढाथोकीले गरेका थिए ।

सो कार्यक्रममा सुपारी खेतीका अभियन्ता निलकण्ठ तिवारी, मेची कृषक सुपारी समूहका अध्यक्ष रन्तबहादुर कार्की, उपाध्यक्ष खड्गबहादुर राई लगायत अन्य पदाधिकारी तथा कृषकहरु सहभागी थिए ।

बेर्ना उत्पादन कार्यक्रमका लागि मेचीनगर–९ र १२ का किसानलाई पनि आर्थिक सहयोग उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

उत्पादन भएको सुपारीको बिरुवा सहुलियत मूल्यमा मेचीनगरका किसानलाई नै आवश्यकताका आधारमा उपलब्ध गराइने नगरप्रमुख बुढाथोकीको भनाई छ ।

सम्बन्धित खबर