२०८१ पौष २६, शुक्रवार , ०६:०४:२३ बजे

Sajhamanch
'

निचाझोडा सिमसारमा विपद व्यवस्थापनको एकीकृत अभ्यास

मङ्गलवार, जेठ २२, २०८१

मेचीनगर । नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकको परिकल्पनामा एकीकृत अभ्यास मनसुन–४ कार्यक्रमअन्तर्गत सामुदायिक विपद व्यवस्थापन नमूना अभ्यास भएको छ ।

मेचीनगर–१३ र १४ मा रहेको निचाझोडा सिमसार क्षेत्रमा विपद व्यवस्थापनसम्बन्धी बृहत डेमोस्ट्रेशन भएको हो । जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल रेडक्रस सोसाइटी झापाको सहकार्यमा भएको उक्त अभ्यास करिब दुई घण्टा चलेको थियो ।

विपदपछिको खोज उद्धार र पुनस्र्थापनामा आधारित विभिन्न क्षेत्रमा कार्यरत व्यक्ति र जनसमुदायलाई विपदसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले सो अभ्यास आयोजना गरिएको गणका प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिए ।

अभ्यासअन्तर्गत विपदपछि खोजी तथा उद्धारसम्बन्धी तीनवटा प्रदर्शन र नेपाल रेडक्रस सोसाइटी झापा शाखाले घाइतेहरुको उपचार र राहत वितरणसम्बन्धी प्रदर्शन गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी एवं विपद व्यवस्थापन समिति झापाका अध्यक्ष बन्धुप्रसाद बाँस्तोलाको अध्यक्षतामा आयोजित कार्यक्रममा नम्बर २१ बाहिनीका बाहिनीपति सहायक रथी युवधीरमान सिंह अधिकारी, अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यात, सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल लगायतको उपस्थिति थियो ।

गणको आयोजनामा वृक्षारोपण

अभ्यास कार्यक्रमपछि गणले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा धुपी लगायत फलफूलका बिरुवा रोपिएको छ ।

गणले उपलब्ध गराएको लिची, जामुन, अमला, गुलमोहर लगायतका तीन सय बिरुवा रोपिएको हो । कार्यक्रमका अतिथि तथा अन्य सहभागीहरुले ती बिरुवा रोपेका थिए ।

मङ्गलवार, जेठ २२, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर