बिर्तामोड। झापाको शिवसताक्षी नगरपालिकामा रहेको एक सामुदायिक वनका अध्यक्ष र उपाध्यक्ष काठ तस्करीको आरोपमा पक्राउ परेका छन् ।
झापाको शिवसताक्षी–११ स्थित गैँडे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमृतबहादुर कार्की र उपाध्यक्ष नन्दप्रसाद राय पक्राउ परेका हुन् ।
सबडिभिजन वन कार्यालय दमक र रतुवामाई वृक्षरोपण आयोजनाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
३२१ क्यफिट काठसहित उनीहरू पक्राउ परेका हुन् । दुईवटा रूखका २८ वटा टुनासहित उनीहरूलाई पक्राउ गरिएको सबडिभिजन वन कार्यालय दमकका प्रमुख एकराज दाहालले जानकारी दिए ।
उनीहरूले दुईवटा सालका ठुला रूख काटेको वन कार्यालयले जनाएको छ । गैँडे सामुदायिक वनको सिमानामा रहेको रतुवामाई वृक्षरोपणको वन क्षेत्रमा रूख काटेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सबडिभिजन वन कार्यालय दमकले जनाएको छ ।
पक्राउ परेका कार्की र रायलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय भद्रपुर पठाइएको उनले बताए ।
अध्यक्ष कार्की गैँडे सामुदायिक वनमा एक दशकभन्दा लामो समयदेखि कार्यसमितिमा बस्दै आएका छन् । उनी एक कार्यकालका वरिष्ठ उपाध्यक्ष र दुई कार्यकाल वनको अध्यक्ष भएका छन् ।
कार्की स्थानीय तहको गत निर्वाचनमा नेपाली कांग्रेसबाट शिवसताक्षी–११ को वडा अध्यक्षमा पराजित भएका थिए ।