२०८१ पौष २६, शुक्रवार , ०६:५७:५५ बजे

Sajhamanch
'

मनसुन–४ कार्यक्रमः अरिदमन गणमा विषयगत प्रस्तुतिकरणसँगै गोलबन्ध अभ्यास

सोमवार, जेठ २१, २०८१

मेचीनगर । चारआलीस्थित नेपाली सेनाको अरिदमन गणले सोमवार मनसुन–४ कार्यक्रमअन्तर्गत विषयगत प्रस्तुतिकरण तथा गोलबन्ध अभ्यास (टिटिएक्स) सञ्चालन गरेको छ ।

मनसुनको सुरुवातसँगै झापा जिल्लामा हुने मनसुनजन्य विपद तथा जोखिमको प्रतिकार्यस्वरुप पूर्वतयारी र विपदको समयमा गर्नुपर्ने समन्वयात्मक कार्यमा सहज होस भन्ने उद्देश्यले अभ्यास सञ्चालन गरिएको हो ।

कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जिल्ला रेडक्रस सोसाइटीका पदाधिकारी, विभिन्न पालिकाका प्रतिनिधिको उपस्थिति थियो ।

प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले आरम्भ गरेको कार्यक्रममा जिल्ला प्रशासन, सुरक्षा निकाय लगायत सरोकारवाला संघ–संस्थाहरुले विपद व्यवस्थापनको पूर्वतयारी, हालको अवस्था र क्षमताको सम्बन्धमा प्रस्तुतिकरण दिएका थिए ।

कार्यक्रममा आधारित रहेर जेठ २२ गते (मंगलवार) मेचीनगरस्थित निचाझोडा सिमसार क्षेत्रमा विपद व्यवस्थापनसम्बन्धी बृहत डेमोस्ट्रेशन र वृक्षारोपण कार्यक्रम हुने नेपाली सेना चारआली ब्यारेकले जनाएको छ ।

सम्बन्धित खबर