२०८१ पौष २६, शुक्रवार , ०४:१७:४९ बजे

Sajhamanch
'

गुणस्तरीय विऊ, मल र कृषि सामग्री सर्वसुलभ उपलब्ध गराउन कांग्रेस झापाको माग

सोमवार, जेठ २१, २०८१

बिर्तामोड । नेपाली कांग्रेस झापाले किसानलाई उच्च गुणस्तरीय विऊविजन, मलखाद र कृषि सामग्री सर्वसुलभ रुपमा उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सोमवार बसेको बैठकले खेतीपातीको मुख्य सिजन भइसक्दा पनि किसानहरुले गुणस्तरीय विऊविजन एवं मलखादको अभाव भोगिरहनुपरेको भन्दै समयमै गुणस्तरीय विऊविजन र मलखाद उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।

नेपालीहरुको मुख्य पेशा कृषि नै रहेको र समयमा विऊविजन, मलखाद नपाउँदा एवं सिंचाईंको व्यवस्था नहुँदा राष्ट्रको कूल गार्हस्थ उत्पादनमा नै असर पुग्ने निष्कर्ष निकाल्दै बैठकले किसानका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ ।

त्यस्तै, बैठकले झापाका १५ वटै पालिकामा ‘पार्टी समन्वय र सहजीकरण संयन्त्र’ गठन गर्ने निर्णय गरेको छ ।

जनताका काम सर्वसुलभ ढंगले सञ्चालन गर्दै स्थानीय आवश्यकताको प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न जनप्रतिनिधिहरुसँग समन्वयात्मक भूमिका खेल्ने उद्देश्यका साथ झापाका १५ वटै पालिकामा ‘पार्टी समन्वय र सहजीकरण संयन्त्र’ गठन गरिएको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जानकारी दिए ।

पार्टी केन्द्रीय समितिको निर्देशन बमोजिम उक्त संयन्त्रमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पालिका तहका पार्टीका उम्मेद्वारमध्येबाट तीनजना, पार्टीका पालिका तहका सभापतिसहित पार्टीबाट तीनजना एवं पार्टीका शुभचिन्तक वा सामाजिक व्यक्तित्वमध्येबाट तीनजना गरी ९ सदस्यीय संयन्त्र गठन गरिएको सचिव नवीन विमलीले बताए ।

जिल्ला पार्टी कार्यालयमा बसेको बैठकमा जिल्लाका पदाधिकारी, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ–नगर सभापति, निर्वाचित जनप्रतिनिधि एवं पालिका तहका उम्मेद्वारहरुको उपस्थिति थियो ।

सम्बन्धित खबर