२०८१ पौष २६, शुक्रवार , ०९:२०:३८ बजे

Sajhamanch
'

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै बिर्तामोड नगरपालिकाः सेवाग्राही भन्छन्, ‘घरआँगनमै उपचार हुँदा खुशी छौं’

आइतवार, जेठ २०, २०८१

कमल । बिर्तामोड नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा फड्को मारेको छ ।

जिल्लाको मुटुमा अवस्थित यो नगरपालिकाले पछिल्लो समय आम नगरवासीलाई सहज र सुलभ रुपमा स्वास्थ्य सेवा प्रवाह गरिरहेको हो ।

राज्यको पुनः संरचनासँगै दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले नगरको नेतृत्व सम्हालेपछि पूर्वाधार विकाससँगै स्वास्थ्य क्षेत्रमा नगरपालिकाले छलाङ मारेको नगरवासी बताउँछन् ।

सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेका उल्लेख्य कामबाट नगरवासी लाभान्वित भएका सेवाग्राहीको भनाई छ ।

नगरवासी स्वस्थ नभएसम्म नगरको मुहार फेरिन असम्भव रहेको भन्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम गर्दै आएको छ । यसको पछिल्लो ज्वलन्त उदाहरण बनेको छ, बिर्तामोड नगर अस्पताल ।

नगरभित्र बसोबास गर्ने प्रत्येक नागरिकलाई सहज ढंगले गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन नगर अस्पताल सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । उक्त अस्पतालले सेवा प्रवाह थालेसँगै नगरवासीले आफ्नै घरआँगनमा उपचार गराउन पाएपछि सहज महसूस गरेका छन् ।

नगरपालिकाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नगर अस्पतालमा विशेषज्ञ डाक्टरसहित आवश्यक सेवासमेत थप गरिरहेको जनाएको छ ।

सो अस्पतालमा भिडियो एक्स–रे, ईसिजी, ल्याब सेवासँगै गर्भवती महिलाका लागि चौबीसै घण्टा प्रसूती कक्ष (वर्थिङ सेन्टर) समेत सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै, नगरलाई क्षयरोग मुक्त बनाउन विभिन्न कार्यक्रमसमेत शुरु गरिएको बिर्तामोड नगरपालिकाका जनस्वास्थ्य अधिकृत राजीवकृष्ण विष्ट बताउँछन् ।

नगरपालिकाले स्वास्थ्य समस्या भएका नगरवासीलाई आफ्नै घर–आँगनमा उपचार गराउँदा समय र पैसाको बचत भएको भन्दै सेवाग्राही खुशी भएका छन् ।

‘स्वास्थ्य बीमाको प्रथम विन्दुसहित सबै सेवा यही अस्पतालबाट पाइरहेका छौं, यसबाट बिरामीलाई थप सहुलियतसँगै सुविधा भएको छ ।’ सेवाग्राही लक्ष्मीदेवी कार्कीले भनिन् ।

अस्पतालमा बिरामीको चाप बढेपछि उपचार सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन विशेषज्ञ डाक्टरहरूको सेवासँगै ल्याब, भिडियो एक्स–रे, ईसिजी लगायतका उपकरण थप गरिएको जनाइएको छ ।

अस्पताल आएका सेवाग्राहीले समयमै उपचार गराउन सकून् भन्ने उद्देश्यले बिहान ८ बजेदेखि नै ओपिडी र चौबीसै घण्टा प्रसूती सेवा शुरु गरिएको उक्त अस्पतालका जनस्वास्थ्य निरीक्षक कृष्ण काफ्लेले बताए ।

‘स्वास्थ्य परीक्षण गराउनेको संख्या दिनहुँजसो बढ्नुले अस्पतालप्रति नागरिकको विश्वास बढेको अनुभूति गरेका छौं’, नगर अस्पतालका बालरोग विशेषज्ञ डाक्टर रविन रेग्मीले भने ।

उनका अनुसार अहिले मौसमी फ्लु, रुघाखोकी, छालाको समस्या लगायतका बिरामी धेरैजसो अस्पताल धाउने गरेका छन् ।

गत फागुन २० गते प्रथम वार्षिकोत्सवको मनाएको अस्पतालले आएका सेवाग्राहीलाई पर्याप्त सेवा प्रवाह गर्न न्यूनतम जनशक्तिको अधिकतम उपयोग गरिरहेको अस्पतालका प्रशासन प्रमुख विमल पोखरेलले जानकारी दिए ।

‘तर, यही जनशक्तिले सधैँभरि धान्ने अवस्था छैन, जनशक्ति थप गर्न अस्पताल प्रशासन आवश्यक तयारीमा छ’, उनले भने ।

नगर अस्पताल सञ्चालनका लागि नीति तथा कार्यक्रम बनाएर काम अघि बढाइएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला बताउँछन् ।

“बजेट अभावले निर्माणाधीन अस्पतालको भवन पूरा भएको छैन, स्वास्थ्य ऐन पास भइसकेको छ” उनी भन्छन्, “अबका दिनमा नगरवासीलाई अझै सहजरुपले स्वास्थ्य सेवा उपलब्ध गराउनेगरी नगरपालिका लागीपरेको छ ।”

नगर उपप्रमुख संग्रौलाका अनुसार २०७४ सालमा शहरी स्वास्थ्य केन्द्रको रुपमा स्थापित सो अस्पताललाई नगर अस्पतालमा स्तरोन्नति गरी स्वास्थ्य सेवा प्रवाह भइरहेको हो ।

सरकारले निःशुल्क प्रदान गरेका सबै औषधि नियमित रुपमा वितरण भइरहेको जानकारी गराउँदै नगरप्रमुख पवित्रा महतारा प्रसाईंले भनिन्, ‘बिर्तामोड नगर व्यापारिक केन्द्र हो, नगरवासीकै हाराहारीमा अन्यत्रबाट आउने नागरिकलाई समेत औषधि नियमित उपलब्ध गराइरहेका छौं ।’

“त्यसैले, आएका सेवाग्राहीमध्ये कतिपय नियमित औषधि लिनबाट छुट्नु भएको हुनसक्छ, सेवाग्राहीको चाप छ”, उनी भन्छिन्, “आउने सबैलाई सधैं औषधि प्रदान गर्न नगरको आर्थिक स्रोतले भ्याएसम्म काम गरिरहेका छौं ।”

नगरपालिकाले नगर अस्पतालसँगै हरेक वडामा सञ्चालित आधारभूत स्वास्थ्य केन्द्र र स्वास्थ्य शाखामार्फत सरकारले सञ्चालन गरेका नियमित कार्यक्रमलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

सोहीक्रममा गत महिना सम्पन्न हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रममा सबैभन्दा बढी औषधि खुवाएर बिर्तामोड नगरपालिका प्रथम भएको छ ।

त्यस्तै, यही महिना सञ्चालन भइरहेको १ वर्षदेखि ५ वर्षमुनीका बालबालिकालाई लगाइने पोलियो खोप कार्यक्रम प्रभावकारी बनाउन स्वास्थ्य शाखा लागीपरेको बताइएको छ ।

सम्बन्धित खबर