इलाम । एन्फा इलाम जिल्ला लीगको उपाधिका लागि रेडहर्स फुटबल क्लब र त्रिवेणी फुटबल क्लब भिड्ने भएका छन् ।
इलामको ठूलो टुंडिखेलमा भएको सेमिफाइनल खेलमा रेडहर्सले मिलियन फ्रेन्डर्स क्लब (एमएफसी) पान्दाम र त्रिवेणीले फ्रेन्डसिप युथ क्लब गोदकलाई हराउँदै उपाधि होडमा प्रवेश गरेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा रेडहर्सले एमएफसीलाई टाइब्रेकरमा हराएको हो । निर्धारित समयमा दुवै टीमले १–१ गोलको बराबरी खेलेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो ।
टाइब्रेकरमा रेडहर्स ४–२ गोल अन्तरले विजयी बन्यो । रेडहर्सलाई फाइनल पुर्याउन गोलरक्षक निशम दनुवारले निर्णायक भूमिका खेले । उनले एमएफसीको २ टाइब्रेकर प्रहार बचाएका थिए ।
खेलको सुरुवाती अग्रता रेडहर्सले लिएको थियो । दोस्रो हाफको १४ औं मिनेटमा प्रिन्स शेर्पाले हेडर मार्फत गोल गर्दै अग्रता दिलाए । इन्जुरी समयमा सुशान्त गुरुङले बराबरी गरे ।
दोस्रो सेमिफाइनल खेलमा त्रिवेणीले फ्रेन्डसिप माथि ३–० गोल अन्तरको जीत दर्ता गरेको छ । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दोस्रो हाफको ११ औं मिनेटमा अबिरल राईले त्रिवेणीलाई अग्रता दिलाए ।
अन्तिम मिनेट र अतिरिक्त समयमा मुकेश मगरले गोल गरेपछि त्रिवेणीले रेडहर्ससँग उपाधि भेट पक्का गरेको हो । फाइनल खेल शनिवार हुनेछ ।