२०८१ पौष २५, बिहिवार , ११:३०:५६ बजे

Sajhamanch
'

प्रहरी हौँ’ भन्दै काठमाडौँको सुन पसलमा लुटपाट

बिहिवार, जेठ १७, २०८१

काठमाडौँ । ‘प्रहरी हौँ’ भन्दै काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२ स्थित कपनको मुस्कान चोक नजिक रहेको सुन पसलमा लुटपाट भएको छ । प्रहरीले लुटपाटमा संलग्न एक जनलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ भने ३ जना अझै फरार रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार प्रहरीले घटनामा संलग्न रहेका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ४८ वर्षीय भाग्यराम पाइनलाई पक्राउ गर्न सफल भएको हो । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ अत्तरखेल बस्दै आएका पाइन र उनको समूहले गत जेठ १३ गते सोहील बाह्रबिसे सुनचाँदी पसलमा लुटपाट गरेका थिए ।

उपरीक्षक रेग्मीका अनुसार सो राति करिब ११ बजे पाइनको समूह सुन पसलका सञ्चालक जय विक्रम विकको डेरामा पुगेका थिए । ‘हामी सादा पोसाकका प्रहरी हौँ, तपाईंको पसलको अनुसन्धान गर्न आएका हौँ’ भन्दै उनीहरूले विकलाई पसल खोल्न लगाएका थिए ।

पसल खोलेपछि विकलाई कुटपिट गरी पसलमा रहेको अन्दाजी ५ तोला सुनका विभिन्न गरगहना र मोबाइल लुटपाट गरी फरार भएका थिए । अनुसन्धानको क्रममा घटनामा पाइनको समूह संलग्न रहेको खुलेको थियो । पाइनलाई प्रहरीले गत जेठ १४ गते गोकर्णेश्वरबाट चोरी गरेको सुनका केही गहनासहित पक्राउ गरेको उपरीक्षक रेग्मीले जानकारी दिए ।

उनको साथबाट ५० दरको ३०० अमेरिकी डलर र मोबाइलसमेत प्रहरीले बरामद गरेको थियो । पाइनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । लुटपाटमा संलग्न अन्य ३ जनालाई प्रहरीले खोजी भइरहेको प्रहरीको भनाई छ ।

बिहिवार, जेठ १७, २०८१ | अपराध, समाज

सम्बन्धित खबर