इलाम । एन्फा इलाम जिल्ला लीगमा माईभ्याली फुटबल क्लब विजयी बनेको छ ।
इलामको ठूलो टुंडिखेलमा सञ्चालित खेलमा हेलिबोध एफसीलाई २–१ गोल अन्तरले हराउँदै माईभ्यालीले ३ अंक जोडेको हो ।
सुरुवाती अग्रता जोगाउन नसक्दा हेलिबोध पराजित बनेको हो ।
खेलको २१ औं मिनेटमा साइमन लिम्बूले हेलिबोधलाई अग्रता दिलाएका थिए । सब्स्टिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका जोएल राईले पहिलो हाफको इन्जुरी समयमा खेल बराबरी गरे ।
दोस्रो हाफको १५ औं मिनेटमा सागर न्यौपानेले पेनाल्टी मार्फत गोल गर्दै माईभ्यालीलाई महत्वपूर्ण ३ अंक दिलाए । बुधवार ठूलो टुंडिखेलमा हेल्लो जस्बिरे र रेडहर्स फुटबल क्लब तथा देउराली स्पोर्टिङ क्लब र क्लब ओएसिस भिडने छन् ।
सोमवारको खेलमा जीत निकाल्दै रेडहर्स र देउरालीले समान ३/३ अंक प्राप्त गरेका छन् । हेल्लो जस्बिरे र क्लब ओएसिस अंक विहिन छन् । देउमाई नगरपालिकाको छात्राबास खेल मैदानमा हेलिबोध फुटबल क्ल्ब र त्रिवेणी फुटबल क्लब भिडने छन् ।
हेलिबोध आज (मंगलवार) को खेलमा पराजित बनेर अंक विहिन रहँदा त्रिवेणी पहिलो खेल खेल्दैछ ।