२०८१ असोज २, बुधवार , १०:४५:३० बजे

Sajhamanch
'

इलामको रोङमा रोङ गट ट्यालेन्टको तयारी

शनिवार, जेठ १२, २०८१

इलाम । इलामको रोङ गाउँपालिकामा प्रतिभा खोजी अन्तर्गत रोङ गट ट्यालेन्ट कार्यक्रम हुने भएको छ ।

गाउँपालिकाको रोङ प्रतिभाको खोजी अन्तर्गत उक्त कार्यक्रम हुन लागेको हो । रोङ प्रतिभाको खोजी अन्तर्गत गायन, नृत्य र साहित्य क्षेत्रका प्रतिभालाई समुदायमा उजागर गर्न सो कार्यक्रम गर्न लागिएको जनाइएको छ ।

रोङ प्रतिभाको खोजी निर्देशक समितिको आयोजना, रोङ गाउँपालिकाको आर्थिक सहयोग र रोङ विद्यार्थी एकता समितिको सह–आयोजनामा कार्यक्रम गर्न लागिएको बिहीवार आयोजित पत्रकार सम्मेलनमा बताइयो ।

गायन, नृत्य र कविता लेखनमा अब्बल प्रतिभालाई अवसर दिन उक्त कार्यक्रम आयोजना गरिएको रोङ प्रतिभा खोजी निर्देशक समितिका संयोजक प्रमेश राईले जानकारी दिए ।

“गाउँ–गाउँमा प्रतिभाहरू लुकेर रहेका छन्, यस्ता प्रतिभाको प्रष्फुटनका लागि यो कार्यक्रम आयोजना गरेका हौँ”, उनले भने, “यो कार्यक्रमले गाउँमा लुकेका प्रतिभालाई राष्ट्रसामु चिनाउनेछ ।”

प्रतिभा खोजी चार चरणमा हुने बताइएको छ । प्रारम्भिक चरणमा रोङभित्रका ६ वटै वडाबाट प्रतिभा छनोट हुने छन् । त्यसका लागि वडामा अडिसन राखिने निर्देशक समिति सदस्य गृष्मा सापकोटाले जानकारी दिइन् ।

यसका लागि इच्छुकले जेठ ९ गतेदेखि १६ गतेसम्ममा वडा कार्यालय पुगेर फारम भर्न सक्ने छन् । तीनवटै विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ३० हजार, २० हजार र १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

सो प्रतियोगिताका लागि ११ लाख ६२ हजार ५ सय रुपैयाँ बजेट लाग्ने आयोजकको अनुमान छ । त्यसमध्ये गाउँपालिकाले ८ लाख रुपैयाँ प्रदान गर्ने जनाइएको छ ।

“मानव जीवनको समग्र पक्षको विकास हुनुपर्छ भन्ने गाउँपालिकाको निष्कर्ष हो” रोङकी उपाध्यक्ष विष्णुमाया भूजेलले भनिन्, “गाउँमा राम्रा प्रतिभा देखेका छौँ, उनीहरूको प्रतिभा उजार गरी राष्ट्रसामु चिनाउनु गाउँपालिकाको दायित्व पनि हो ।”

शनिवार, जेठ १२, २०८१ | समाज, सासंक

सम्बन्धित खबर