बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँको राहत कोष स्थापना गरेको छ ।
संघमा आबद्ध सदस्य तथा फर्ममा हुने दैवी विपत्तिका कारण व्यवसायीलाई पुग्ने क्षतिलाई मध्यनजर गर्दै विपतमा परेका व्यवसायीलाई राहत उपलब्ध गराउन कोष स्थापना गरिएको हो ।
राहत कोषमा रकम जम्मा गर्न शुरु गरिएको छ । संघको बिहीवार बसेको बैठकले कोष स्थापना गर्ने निर्णय गर्दै रकम संकलन कार्य शुरु गरेको हो ।
संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले विपतमा व्यवसायीलाई राहत उपलब्ध गराउन कोष स्थापना गरेको महासचिव कुशल खतिवडाले बताए ।
त्यस्तै, बैठकले विभिन्न उपसमितिसमेत गठन गरेको छ । संघका पूर्वअध्यक्ष प्रकाश शिवाकोटीको संयोजकत्वमा राजनीतिक दल सहजीकरण समिति गठन भएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे (राजु) संयोजक र शत्रुघनप्रसाद गुप्ता सदस्य रहेको महासंघ तथा विशिष्ट व्यक्तिसँगको सहकार्य एवं समन्वय समिति गठन भएको छ ।
यसैगरी, विशाल थापा संयोजक र डिल्लीराम कोइराला सदस्य रहेको जिल्ला प्रशासन, प्रहरी तथा सुरक्षा समन्वय समिति गठन गरिएको छ ।
जीवनकुमार खड्काको संयोजकत्वमा अनन्तलाल महतो सदस्य रहेको व्यावसायिक समस्या समाधान समिति गठन गरेको बैठकले गोमा भट्टराई संयोजक र सुशीलाकुमारी कार्की सदस्य रहेको संघ–संस्था समन्वय समिति गठन गरेको छ ।
पुकार बरालको संयोजकत्वमा रमेश घिमिरे सदस्य रहने गरी कृषि बजार व्यवस्थापन समन्वय समिति गठन गरिएको बैठकमा राजकुमार साह संयोजक र कृष्णप्रसाद बजगाईं सदस्य रहेको भन्सारसम्बन्धी समन्वय समिति गठन भएको छ ।
त्यस्तै, सो बैठकले युवराज निरौला संयोजक र केदार खनाल सदस्य रहेको आन्तरिक राजश्व तथा करसम्बन्धी समन्वय समिति, तिलोत्तमा खत्री संयोजक र सुष्मा उप्रेती (सुवेदी) सदस्य रहेको महिला उद्यमी समन्वय समिति गठन गरेको जनाइएको छ ।
संघका महासचिव तथा प्रवक्ता खतिवडाका अनुसार उक्त बैठकबाट संघ एवं अतिथिसदन मर्मत व्यवस्थापन समितिको संयोजकमा दिनेश श्रेष्ठलाई चयन गरिएको छ ।