२०८१ पौष २५, बिहिवार , १२:५२:१० बजे

Sajhamanch
'

एमाले शिवसताक्षीको दोस्रो नगर अधिवेशनको तयारी पूरा

मङ्गलवार, जेठ ८, २०८१

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी नगरले यही जेठ १० र ११ गते दोस्रो अधिवेशन गर्न आवश्यक तयारी गरिएको जनाएको छ ।

सो पार्टीले शिवसताक्षी नगरपालिकाको दूधेमा पत्रकार सम्मेलन गरी दोस्रो नगर अधिवेशनको लोगोसमेत सार्वजनिक गरेको छ । सो अधिवेशनका लागि उक्त नगरको ११ वटै वडामा प्रतिनिधि छनौट कार्य सकिएको छ ।

सो पार्टीको जिल्ला कमिटीले उपलब्ध गराएको विवरण अनुसार शिवसताक्षीमा २ हजार ४ सय २२ जना पार्टी सदस्य छन् ।

अधिवेशनमा पार्टीको सदस्यता नवीकरण गरेका सदस्यहरुमध्ये वडाबाट चुनिएर आएका सदस्यले नगर अधिवेशनमा भाग लिन पाउने व्यवस्था छ ।

अधिवेशनका लागि शिवसताक्षी नगरका ११ वटै वडाबाट कूल ५ सय १३ जना सदस्य छानिएका एमाले शिवसताक्षी नगर कमिटीले जनाएको छ ।

अन्य जनवर्गीय संगठनबाट चुनिएका प्रतिनिधिसमेत गरी करीब ७०० जना अधिवेशनमा सहभागी हुने एमाले शिवसताक्षी नगर कमिटीका कार्यवाहक अध्यक्ष कमल नेपालले जानकारी दिए ।

अधिवेशनमा प्रतिनिधि छनौटका लागि ३३ प्रतिशत महिला, २० प्रतिशत युवाको उपस्थिति अनिवार्य गराइएको छ भने आदिवासी जनजाति, पिछडा वर्ग, दलित, मजदूर, अपाङ्गता भएका सबै वर्गको प्रतिनिधित्व हुनेगरी प्रतिनिधि चयन गरिएको छ ।

अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन समेत तयार भइसकेको उक्त पार्टीले जनाएको छ ।

अधिवेशनका लागि पार्टीका सबैलाई विभिन्न जिम्मेवारी प्रदान गर्न उपसमिति गठन गरी परिचालन गरिएको अध्यक्ष नेपालको भनाई छ ।

अधिवेशनको उद्घाटन सत्रमा पार्टीका ज्येष्ठ महिला कर्मठ सदस्य आइतमाया लिम्बू, पार्टीका पुराना सदस्य तारासम योङ्या र तत्कालीन मालेको दोस्रो विस्तारित बैठकस्थलका घरमूली २०४४ सालका सेल्टर दाता देवी रेग्मीलाई सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

एमाले नगर कमिटीका अनुसार अधिवेशन तयारीका लागि वेनुप्रसाद कार्कीको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ ।

सम्मेलनमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा शिवसताक्षी नगर इन्चार्ज मेनुका काफ्ले, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य लगायतको उपस्थिति थियो ।

अधिवेशन शिवसताक्षीको दूधेस्थित आदिवासी जनजातिको भवनमा हुने बताइएको छ । सम्मेलनको सञ्चालन नगर कमिटी उपसचिव भीम लिवाङले गरेका थिए । सो सम्मेलनपछि नगर कमिटीको पूर्ण बैठकसमेत बसेको थियो ।

सो अधिवेशनको उद्घाटन पार्टीका पोलिटब्यूरो सदस्य विशाल भट्टराईले गर्ने जनाइएको छ ।

सम्बन्धित खबर