
झापा ।सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाले १७ औ स्थापना दिवसको अवसरमा २४ जनालाई सम्मान गरेको छ । भद्रपुरस्थित गण परिसरमा मंगलबार आयोजित एक कार्यक्रममा ओमसाई पाथीभरा हस्पिटल भद्रपुरका अध्यक्ष दीपककुमार पोखरेलसहित बहालवाला सात जना उत्कृष्ट सशस्त्र प्रहरी , १३ खेलाडी र अवकाशप्राप्त तीनसहित २४ जनालाई सम्मान गरिएको हो ।
पूर्वी पृतना हेडक्वार्टर प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजी) शम्भु सुवेदीलगायतले उनीहरूलाई सम्मान गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक सुवेदीले संगठनको निर्देशनमा रही देश र जनताको सेवामा समर्पित रहेर सीमा सुरक्षामा सक्रिय भएर लाग्न सशस्त्रलाई निर्देशन दिएका छन् । त्यस्तै झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्लाको सीमा सुरक्षालाई कडाइ गर्दै सीमा केन्द्रित कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।
विभिन्न देश प्रेमको झल्को दिने गीत नृत्यसहितको सांस्कृतिक प्रस्तुति रहेको कार्यक्रममा गण प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कवीन्द्र राईले धन्यवाद ज्ञापन गरेका थिए । १४४ किलोमिटर खुला सीमा रहेको झापामा ९९५ सीमा स्तम्भ र २१ वटा सशस्त्र विट रहेको उनले बताए ।