२०८१ पौष २६, शुक्रवार , ०१:४३:०८ बजे

Sajhamanch
'

काठमाडौंमा सुनको सिक्री लुटेको आरोपमा दुई जना पक्राउ

सोमवार, जेठ ७, २०८१

काठमाडौं । काठमाडौंमा सुनका सिक्री लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त महाराजगञ्जको टोलीले सुनका सिक्री लुटपाटका घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ पर्नेमा रौतहट मौलापुर नगरपालिका वडा नम्बर ४ घर भई बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ माथिल्लो भंगाल बस्ने १९ वर्षीय सरोजकुमार शाह र सोही ठाउँका २० वर्षीय राधेश्याम शाह छन्।

प्रहरीका अनुसार गत बिहीबार माथिल्लो भंगालमा बस्ने ५६ वर्षीया सुमित्रा श्रेष्ठ आफ्नो घरबाट किरिया पुत्री गृहमा हिँडेर जाँदै गरेकी थिइन्।

त्यतिबेला एक जना युवकले एक्कासी आएर उनलाई लछारपछार गरेका थिए। लछारपछार गरेर उनले घाँटीमा लगाएको साढे १ तोला बराबरको सुनको सिक्री लुटेर ती युवक फरार भएका थिए।

यस्तै गत शुक्रबार साँझ बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ बिएमसी स्कुलमा ७५ वर्षीया शारदा थापा आफ्नै किराना पसलमा बसिरहेकी थिइन्।

‍त्यतिबेला एक्कासी एक युवक आएर उनले घाँटीमा लगाएको सुनको सिक्री लुटेर भागेका थिए। शारदाबाट एक तोला ९२ लाल बराबरको सिक्री लुटिएको थियो।

यसरी सुनको सिक्री लुटपाट भएको भन्ने खबर पछि प्रहरी वृत्त महाराजगञ्जबाट अनुसन्धान अधिकृतको टोली खटिएको थियो। सिसिटिभी फुटेजको आधारमा प्रहरीले अनुसन्धान तथा खोजी थालेको थियो। खोज्ने क्रममा दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो। लुटिएको दुबै सिक्री पनि उनीहरूबाट प्रहरीले बरामद गरेको छ।

प्रहरीले उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएर अनुसन्धान अघि बढाएको छ।

सोमवार, जेठ ७, २०८१ | अपराध, समाज

सम्बन्धित खबर