२०८१ असोज ३, बिहिवार , ०४:५३:०१ बजे

Sajhamanch
'

कोशी प्रदेशमा पहिलो चलचित्र महोत्सवको तयारीः बिर्तामोडमा उद्घाटन, समापन विराटनगरमा

शुक्रवार, जेठ ४, २०८१

बिर्तामोड । कोशी प्रदेशमै पहिलोपटक आयोजना गर्न लागिएको चलचित्र महोत्सव यही जेठ ६ गतेबाट शुरु हुने भएको छ ।

आउँदो जेठ ११ गतेसम्म सञ्चालन हुने ६ दिवशीय महोत्सवका लागि आवश्यक तयारी तीव्र पारिएको शुक्रवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बताइयो ।

कोशी प्रदेशमा निर्माण गरिएका चलचित्र र यो प्रदेशको कला, संस्कृति एवं मनमोहक स्थलबारे जानकारी गराउन महोत्सव हुन लागेको सम्मेलन आयोजक नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशले जनाएको छ ।

‘चलचित्र क्षेत्रमा लगानी बढाउन र चलचित्र क्षेत्रको विकासका लागि गर्नुपर्ने कामबारे अवगत गराउनु पनि महोत्सवको अर्को लक्ष्य हो ।’, संघका अध्यक्ष केवल तामाङले सम्मेलनमा भने ।

बिर्तामोडमा उद्घाटन भई विराटनगरमा समापन हुने महोत्सवको उद्घाटनका क्रममा विभिन्न जातिय तथा सांस्कृतिक पहिचान उजागर गर्ने कला र झाँकी प्रदर्शन गरिने उनले बताए ।

सम्मेलनमा संघका महासचिव रमेश तिवारीले कोशी प्रदेशमा चलचित्र क्षेत्रको विकास र प्रोत्साहनमा टेवा पुग्ने क्रियाकलाप भए कोशी चलचित्र पर्यटनको प्रमुख गन्तव्य बन्ने र उदाहरणीय प्रदेशको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

चलचित्र क्षेत्रमा विकसित नवीनतम प्रविधि, सिर्जना, सीप, कला र शैलीबारेको अध्ययन एवं अनुसन्धान गर्न, चलचित्र मार्फत अन्तरदेशीय सांस्कृतिक अनुभव साटासाट गर्न वा संयुक्त लगानीमा चलचित्र निर्माण गर्ने काममा उत्प्रेरित गर्न महोत्सव हुन लागेको सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

चलचित्रले प्रदेशलाई पर्यटनसँग जोड्दै आम्दानीको ठूलो स्रोतको रुपमा विकास भई आर्थिक पक्ष सबल बनाउने अपेक्षा महोत्सव व्यवस्थापन पक्षले लिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशले आयोजना गर्ने उक्त महोत्सवको व्यवस्थापन नेपाल चलचित्रकर्र्मी संघ कोशी प्रदेशले गर्ने छ । सो महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने भएका छन् ।

सम्बन्धित खबर