२०८१ पौष २४, बुधवार , ११:४५:२३ बजे

Sajhamanch
'

एनएमसीको महिला सशक्तिकरण उपसमितिले गर्यो लक्ष्मीपुरमा ‘भीआइए टेस्ट’ शिविर

शुक्रवार, जेठ ४, २०८१

कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत महिला सशक्तिकरण उपसमितिले महिलाको पाठेघर जाँच गर्न शुक्रवार निःशुल्क शिविर आयोजना गरेको छ ।

एनएमसीको उक्त विभागीय उपसमितिले नेपाल परिवार नियोजन संघ भद्रपुरको प्राविधिक सहयोगमा कनकाई–८ स्थित लक्ष्मीनारायण मन्दिर तथा सामुदायिक भवनमा शिविर सञ्चालन गरेको हो ।

स्वास्थ्य परीक्षणअघि आयोजित कार्यक्रममा कनकाई–८ का वडा अध्यक्ष लीलाबहादूर कटुवालले सहकारीको छैटौं सिद्धान्तलाई पछ्याउँदै महत्वपूर्ण शिविर शुरु गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरे ।

“जँचाएपछि महिलाको संवेदनशील अंग पाठेघरको स्थिति थाहा हुन्छ, पाठेघरमा संक्रमण छ कि छैन पत्ता लाग्छ” प्रमुख अतिथि कटुवालले भने, “केही समस्या भए नलजाइ, नहिच्किचाइ खुलेर भन्नुस्, जँचाउन सबैलाई आग्रह छ ।”

त्यस्तै, स्त्री रोगसम्बन्धी वरिष्ठ परामर्श दाता प्रमिला गौतमले क्यान्सर रोग लाग्न नदिन भीआइए टेस्ट गरिने जानकारी गराउँदै भनिन्, ‘नआत्तिइ, नडराइकन पाठेघर जँचाउनुस् ।’

सबैलाई आफू स्वस्थ भएको र रोग नलागेको महसूस हुने भन्दै उनले थपिन्, ‘संक्रमण फैलियो भने निको हुन गाह्रो हुन्छ, त्यसैले सबैले बेलैमा जँचाएर ढुक्क होऔं ।’

एनएमसी सञ्चालक समिति वरिष्ठ उपाध्यक्ष भगवती घिमिरे (मैनाली), सदस्यहरु सावित्रा दाहाल, पवित्रा न्यौपाने लगायतको उपस्थिति रहेको शिविर उद्घाटनका क्रममा आयोजक उपसमिति संयोजक कविता पौड्यालले चालु आवको पहिलो कार्यक्रमका रुपमा शिविर सञ्चालन गरिएको बताइन् ।

“उपसमितिको वार्षिक कार्यतालिका अन्तर्गत चालु आवको स्वास्थ्य सम्बन्धी यो पहिलो कार्यक्रम हो, अन्य कार्यक्रम त भइरहेकै छन्” उनले भनिन्, “यहाँका सदस्यबाट माग पनि भयो, अघिल्लो माघ र फागुनमा क्यान्सरबाट ५ जनाले ज्यान गुमाउनुपर्यो, सहकारीको समुदाय लक्षित कार्यक्रम पनि हो यो ।”

एनएमसी लक्ष्मीपुर सेवा केन्द्रको स्थानीय व्यवस्थापनमा भएको एक दिने शिविरमा संस्थामा आबद्ध र गैह्र सदस्य गरी करीब डेढ सय जनाले जाँच गराउने उक्त सेवा केन्द्र उपसमिति संयोजक सुनिता खरेलले बताइन् ।

उनका अनुसार सिनियर स्टाफ नर्स प्रकृति बाँस्तोला, स्त्री रोगसम्बन्धी वरिष्ठ परामर्श दाता प्रमिला गौतम लगायत सहभागी टोली भीआइए टेस्टमा संलग्न थिए । उक्त शिविरमा ९७ जनाले भीआइए टेस्ट गरेका छन् ।

आयोजक उपसमिति संयोजक कविता पौडेल (बुढाथोकी) को अध्यक्षतामा आयोजित शिविर उद्घाटन कार्यक्रममा शाब्दिक स्वागत उपसमिति सदस्य कविता प्रसाईं (उप्रेती) र सञ्चालन एनएमसीको शिक्षा तथा तालिम उपसमिति सदस्य–सचिव हिरन कट्टेलले गरेकी थिइन् ।

सम्बन्धित खबर