२०८१ मंसिर ७, शुक्रवार , ०५:३७:४६ बजे

Sajhamanch
'

दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबलः चन्द्रगढी अन्तिम चारमा

बिहिवार, जेठ ३, २०८१

बिर्तामोड । चन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्व.दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधवार भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टीमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल फर्काएपछि उसले हार व्यहोर्नु परेको थियो । खेलको २५ औँ मिनेटमै चन्द्रगढीका प्रेम लिम्बूले गोल गर्दै गोल बराबरीमा पुर्याएका थिए ।

त्यस्तै, खेलको २६ औँ मिनेटमा सुवास खड्काले एक गोल थप्दै नतिजा २–१ मा पुर्याए । खेलको ३६ औँ मिनेटमा झिलझिलेका सुवास आङथुपोले गोल गर्दै २–२ को बराबरीमा फर्किने प्रयास गरे पनि त्यसपछि थप दुई गोल खाँदा प्रतियोगिताबाट बाहिरिनु पर्यो ।

चन्द्रगढीका लागि खेलको ४१ औँ मिनेटमा प्रेमकुमार लिम्बू र ५९ औँ मिनेटमा सुवास खड्काले गोल गर्दै नतिजा ४–२ बनाएका थिए ।
प्रतियोगिताको प्लेयर अफ दि म्याच चन्द्रगढीका प्रेमकुमार लिम्बू भए । उनले नगद २५०० र ट्रफी पाए ।

कोशी प्रदेशका ८ वटा टीम सहभागी प्रतियोगिताको फाइनल खेल जेठ ७ गते हुने आयोजक पूर्वेली युवा क्लबका कार्यवाहक अध्यक्ष दिपेन चौधरीले बताए ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ पाउने चौधरीले बताए । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५०० र ट्रफी पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकले नगद ५ हजार र ट्रफी प्राप्त गर्ने संयोजक टेकराज तिलिङले बताए ।

पूर्वेली युवा क्लब बिर्तामोडका अध्यक्ष रविन श्रेष्ठले आफ्नी आमा दुर्गादेवी श्रेष्ठको स्मृतिमा विजेताको नगद पुरस्कार प्रदान गरेका छन् ।

१५ वर्षअघि बिर्तामोडका अगुवा युवाहरुको साझा संस्थाको रुपमा स्थापित यस क्लब खेलकुदसँगै सामाजिक कार्यमा समेत अग्रसर रहँदै आएको छ ।

सम्बन्धित खबर