२०८१ साउन १२, शनिवार , ०४:३८:४६ बजे

Sajhamanch
'

हात्तीपाइले बिरुद्धको औषधि सेवन अभियानमा भद्रपुर असफल

सोमवार, वैशाख ३१, २०८१

बिर्तामोड । झापामा सञ्चालित हात्तीपाइले बिरुद्धको राष्ट्रिय आम औषधि सेवन अभियान सञ्चालनमा भद्रपुर नगरपालिकामा असफल भएको छ । जिल्लामा आम औषधि सेवन गराउने पालिकाहरुमध्ये भद्रपुरको नतिजा सबैभन्दा कमजोर बनेको हो ।

बैशाख १६ गतेदेखि ३० गतेसम्म सञ्चालित अभियानमा भद्रपुरले ४४.२७ प्रतिशत औषधि सेवन गराएको छ । यो तथ्याङक २९ गतेसम्मको हो । झापासहित ७ जिल्लामा सञ्चालित आम औषधि सेवन अभियानमा बिर्तामोड नगरपालिकाले ९९.१८ प्रतिशतलाई औषधि सेवन गराउन सफल भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । सबैभन्दा धेरै औषधि सेवन गराउनेमा बिर्तामोड जिल्लाकै प्रथम भएको जनाइएको छ ।

उक्त अभियानमा मेचीनगर ७७, बुद्धशान्ति ९०, अर्जुनधारा ७४, कनकाई ८५, शिवसताक्षी ८४, कमल ६७, दमक ७०, गौरादह ६२, गौरीगञ्ज ७७, झापा ७५, बाह्रदशी ८५, हल्दिवारी ७० र कचनवकलले ८४ प्रतिशतलाई औषधि सेवन गराएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिए । उनका अनुसार सबै पालिकाको लक्ष्य ८० प्रतिशत रहेको थियो । २० प्रतिशतलाई सेवन गर्न नमिल्नेमा गणना गरिएको उनको भनाई छ । पालिकाहरुको ८० प्रतिशत नतिजा भनेको करिव शतप्रतिशत नै हो, उनले भने ।

जिल्ला कै कमजोर नतिजा आएपछि स्वास्थ्य कार्यालय झापासहित भद्रपुरमा छलफल हुने भएको छ । सूचना अनुसार सोमवार बस्ने कार्यपालिका बैठकमा आम औषधि सेवन अभियानबारे छलफलको समेत तयारी गरिएको छ ।
यता, इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको पत्र बमोजिम स्वास्थ्य मन्त्रालयले थप १० दिन अभियान सञ्चालन गर्न परिपत्र गरेको छ ।

सम्बन्धित खबर