२०८१ फागुन ८, बिहिवार , ०३:४०:०७ बजे

Sajhamanch
'

झापामा ट्राफिक प्रहरीसँग ‘पाँच मिनेट’ कार्यक्रम

आइतवार, वैशाख ३०, २०८१

झापा । सवारी दुर्घटना न्यूनीकरणका लागि झापामा प्रहरीले ‘दुईपाङ्ग्रे सवारी चालकसँग ट्राफिक प्रहरीको पाँच मिनेट’ अभियान सञ्चालन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज न्यौपानेले दुर्घटनामा ज्यान गुमाउनेमा सबैभन्दा बढी मोटरसाइकलका यात्रु हुने गरेकाले दुईपाङ्ग्रेका चालकलाई लक्षित गरी अभियान शुरु गरिएको बताए ।

यही वैशाख १२ गते शिवसताक्षीको झिलझिलेबाट कनकाई नदीमा नुहाउन एकाबिहानै गएका तीन युवाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । युवाहरु सवार मोटरसाइकल विपरीत दिशाबाट आइरहेको बोलेरो जिपसँग ठोक्किएको थियो ।

उक्त दुर्घटनामा परी कमल–४का २५ वर्षीय मौसम राई, २० वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मीको मृत्यु भएको थियो । चालू आर्थिक वर्ष २०८०/०८१ को नौ महिनामा झापामा सवारी दुर्घटनामा ५३ जनाको मृत्यु भएको थियो ।

त्यसमध्ये मोटरसाइकल दुर्घटना भएका कारण मृत्यु हुने ३९ जना रहेको न्यौपानेले जानकारी दिए । उक्त अवधिमा ४६३ सवारी दुर्घटना भएकामा मोटरसाइकलको संख्या दुई सय ८८ रहेको थियो ।

मोटरसाइकल दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ– उनले भने– सवारी चालकलाई सजग गराउँदा दुर्घटना न्यूनीकरण हुन्छ भन्ने सोचेर ट्राफिक प्रहरीसँग पाँच मिनेट अभियान चलाएका हौँ । अभियानलाई पूर्वपश्चिम राजमार्गमा केन्द्रित गरिएको छ ।

अभियानअन्तर्गत ट्राफिक प्रहरीको टोलीले गुडिरहेका मोटरसाइकललाई किनारामा रोकेर चालकलाई पाँच मिनेट सवारी नियम र सुरक्षा सम्बन्धी प्रशिक्षण दिने गरेको छ ।

साँघुरो सडक, अत्यधिक सवारी चाप र तीव्र गति नै मोटरसाइकल दुर्घटनाको मुख्य कारण देखिएको छ । कान छोपिने हेल्मेट लगाउन, मदिरा सेवन गरेर सवारी नचलाउन र तीव्र रफ्तारमा नकुदाउन जिल्लाका ट्राफिक प्रहरी प्रमुख न्यौपानेले आग्रह गरेका छन् ।

अभियानमा खटिएका प्रहरीले मोटरसाइकलका चालकलाई दुर्घटना हुनै नदिने उपायका लागि आवश्यक सतर्कताका बारेमा संक्षिप्त प्रशिक्षण दिने गरेका छन् । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेमा २५ वर्षमुनिका युवाको संख्या उल्लेख्य रहेको प्रहरीको भनाइ छ ।

आइतवार, वैशाख ३०, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर