कमल । तोपगाछी खानेपानी तथा सरसफाई उपभोक्ता समिति स्किम नम्बर १ अमलडाँगीको सातौं साधारणसभा सम्पन्न भएको छ ।
कमल गाउँपालिका–४ स्थित सिद्धार्थ सामुदायिक भवनको सभाहलमा आयोजित सभाको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गरेका थिए ।
कार्यक्रममा उनले खानेपानीमा देखिएका विविध समस्याबारे गाउँपालिका कार्यालय जानकार रहेको उल्लेख गर्दै उत्पन्न समस्या समाधान गर्न गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताए ।
सभाको उद्घाटन सत्रमा कमल–४ का वडाअध्यक्ष चन्द्रप्रसाद भट्टराई, ३ का वडाअध्यक्ष अग्निप्रसाद कोइराला, खानेपानी उपभोक्ता महासंघ जिल्ला अध्यक्ष उषा भण्डारी, सहकारी समन्वय समिति कमलका अध्यक्ष शरणकुमार पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सभामा समितिका अध्यक्ष सूर्यप्रसाद लिम्बूद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक कुवेरधन अधिकारीद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन छलफलपछि अनुमोदन भएको थियो ।
समितिका अध्यक्ष सूर्यप्रसाद लिम्बूको अध्यक्षतामा भएको सो कार्यक्रममा शाब्दिक स्वागत सहसचिव दिलिपकुमार चापागाईं र सञ्चालन सचिव सूर्य दंगालले गरेका थिए ।
उक्त संस्थाको चुनावी साधारणसभा भएकाले नयाँ समिति गठन लगायत सम्पूर्ण कार्यक्रम अघि बढाउन निर्वाचन समिति गठन गरी वर्तमान समिति विगठन गरिएको छ ।
निर्वाचन समितिका संयोजक चक्रबहादुर गुरुङका अनुसार निर्वाचन समितिले सम्पूर्ण प्रक्रिया पूरा गरी आउँदो जेठ १ गतेबाट चुनावी कार्यक्रम सार्वजनिक गर्नेछ ।