२०८१ पौष २३, मङ्गलवार , ०९:५४:१४ बजे

Sajhamanch
'

पुण्यकर्ममा तल्लिन चिमरिया दम्पतिले वैवाहिक वर्षगाँठमा १५ सय थान झुल बाँड्ने

शुक्रवार, वैशाख २८, २०८१

मेचीनगर । मेचीनगर–१२ निवासी चिमरिया दम्पतिले आफ्नो २१ औं वैवाहिक वर्षगाँठको सन्दर्भ पारेर मेचीनगरका १५ वटै वडाका विपन्न परिवारलाई झुल वितरण अभियान शुरु गर्ने भएका छन् ।

सो अवसरमा समाजसेवी एवं उद्योगी राजन–गौरा चिमरियाले ३ लाख ६७ हजार ५ सय मूल्य बराबरका १५ सय थान झुल वितरण गर्ने तयारी गरेका हुन् ।

प्रतिकूल मौसममा लामखुट्टेको बिगबिगी बढेर लामखुट्टेले टोक्दा डेंगु भइ अकालमै ज्यान जाने गरेकाले लामखुट्टेबाट जोगाउन एउटा वडामा १०० थान झुल वितरण गर्न लागिएको भएको राजन चिमरियाले बताए ।

झुल वितरणका लागि प्रत्येक वडामा विपन्न परिवारको नामावली संकलन गर्न शुरु गरिएको जानकारी दिँदै उनले विवरण संकलन गरेपछि प्रत्येक वडामा कार्यक्रम गरी झुल बाँडिने बताए ।

जन्मदिन र वैवाहिक वर्षगाँठको अवसरमा विभिन्न समस्याबाट गुज्रिरहेका विपन्न समुदायलाई गच्छे अनुसारको सहयोग गर्दै आएका चिमरिया दम्पतिले वर्षेनि गर्दै आएको कार्यक्रमअन्तर्गत झुल वितरण हुन लागेको बताएका छन् ।

चिमरिया दम्पतिले २१ औं वैवाहिक वर्षगाँठकै दिन बिहीवार मेचीनगर–८ को टोकला बगानका चिया मजदूरहरुलाई ५० थान झुल बाँडेर सो अभियानको थालनी गरेका छन् ।

विपन्न परिवारलाई नगद, जिन्सी तथा चौपाया वितरण गर्दै सामाजिक कार्यमा सक्रिय चिमरिया दम्पतिले आमाको निधनपछि मेचीनगर–१२ मा अव्यवस्थित रुपमा बसिरहेका बालबालिकाको घर बनाउन १० हजार रुपैयाँ सहयोग गरेका छन् ।

उनले सो रकम घर निर्माण अभियानका संयोजक सञ्चारकर्मी खगेन्द्र घिमिरेलाई हस्तान्तरण गरेका हुन् ।

शुक्रवार, वैशाख २८, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर