२०८१ पौष २३, मङ्गलवार , ०९:३८:३१ बजे

Sajhamanch
'

आमाको निधनपछि बेसहारा बनेका बालबालिकालाई घर निर्माण गरिँदै

बुधवार, वैशाख २६, २०८१

मेचीनगर । आमाको निधनपछि गाँस र बासको समस्यामा परेका मेचीनगर-१२ का तीनजना बालबालिकाका लागि घर निर्माण गर्ने तयारी थालिएको छ ।

परिवारको पालनपोषणको एक मात्र आधार ४८ वर्षीया पद्मा भूजेलको निधनपछि बालबालिकाको गाँस, बास र शिक्षाको व्यवस्थापनका लागि अनुसन्धान मिडिया प्रालिले सहयोगको अपील गरेको थियो ।

सो प्रालिको आग्रहपछि स्वतस्र्फूतरुपमा नगद तथा जिन्सी सहयोग जुट्ने क्रम शुरु भएसँगै घर निर्माणको तयारी थालिएको जनाइएको छ ।

दाताहरुबाट सहयोग जुट्न थालेकाले करीब १० लाख रुपैयाँबढी लागतमा टिनको छानाको भान्सासहित २ कोठे घर निर्माण शुरु गरिएको हो ।

घर निर्माण गर्न मंगलवार बसेको एक भेलाले प्रालिका सञ्चालक एवं सम्पादक खगेन्द्र घिमिरेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा गंगा उराउँ मेचे, गोपी रिजाल, सोम ओझा, रामबहादुर मगर, विपिन प्रसाईं, बिष्णु बुढाथोकी, सन्दीप तिम्सिना, भीम कुवर ,कविन्द्र श्रेष्ठ र सुमित्रा गौतम छन् ।

घर निर्माण गर्न अहिलेसम्म विभिन्न ठाउँबाट दाताहरुले ७० हजार रुपैयाँबढी नगद र निर्माण सामग्री सहयोग गर्ने वचन दिएका बताइएको छ ।

हातेमालो जनसेवा समाजका केन्द्रिय सदस्य राम थापाले २० बोरा सिमेन्ट र मेचीनगर-१० का वडासदस्य सोम ओझाले जस्ता पाता र स्वास्थ्य बीमाको सहयोग गर्ने भएका छन् ।

त्यस्तै, मेचीनगर-५ का उमेश उप्रेतीले घर निर्माणमा लाग्ने काठको व्यवस्थापन गर्ने भएका छन् । त्यसैगरी, इट्टा, रंगरोगन, पिउने पानीको व्यवस्थापनका लागि दाताले सहयोग गर्ने वचन दिएका छन् ।

तीन बालबालिकामध्ये रोहन कक्षा ५ मा, तारा कक्षा ४ मा र करुणा कक्षा २ मा मेचीनगर(११ स्थित बलभद्र माविमा अध्ययनरत छन् । उनीहरुलाई उचित शिक्षा र त्यसको व्यवस्थापन गर्न समेत शिक्षासेवीहरुले इच्छा व्यक्त गरेका छन् ।

मृतकका श्रीमान धनबहादुर भूजेल गाउँमा मेलापात र मजदूरी गर्दै आएका छन् । आफ्नो नाममा जमिन नभएको भूजेल परिवार ४ वर्षयता मेचीनगर-१२ स्थित हडिया खोलाको ऎलेनी जमिनमा बसोबास गर्दै आएको छ ।

बुधवार, वैशाख २६, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर