२०८१ पौष २३, मङ्गलवार , ०६:५४:२१ बजे

Sajhamanch
'

बिर्तामोड नगरले कृषकलाई बाँड्यो ६ सय ७५ वटा बाख्रा

मङ्गलवार, वैशाख २५, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कृषकहरुलाई ६ सय ७५ वटा बाख्रा वितरण गरेको छ ।

नगरले आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म नगरको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई बाख्रा वितरण गर्दै आएको हो । त्यसयता नगरले उन्नत बोयर जातका १९ वटा बीउ बोकासमेत वितरण गरिएको जनाएको छ ।

नगरको पशुपक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले सो अवधिमा १५ वटा महिला कृषक समूहका २ सय २५ जना सदस्यलाई बाख्रा वितरण गरिएको बताइन् । नगरले बाख्रा वितरण गरेपछि खोर पनि बनाइदिने गरेको छ ।

आर्थिक वर्ष २०७४/०७५ यता २ सय २५ वटा खोर निर्माण गरिएको नगरले जनाएको छ । नगरले सुरुवातमा २ लाख ६५ हजार रुपैयाँ लगानी गरेर बाख्रा खरिद गरी मेयर पकेट अन्तर्गत बाख्रा साटासाट कार्यक्रमलाई अघि बढाएको थियो ।

उक्त कार्यक्रम अन्तर्गत बाख्रा पाउन एउटा महिला कृषक समूहमा १५ जना सदस्य अनिवार्य रुपमा आबद्ध भएको हुनुपर्ने नियम बनाइएको छ । समूहका सबै सदस्यलाई ३/३ वटाका दरले बाख्रा वितरण गर्ने गरिएको छ ।

पहिले बाख्रा लिएका समूहका सबै सदस्यले अर्को वर्ष सोही दरले नगरलाई बाख्रा बुझाउनु पर्ने नियम छ । यसरी बाख्रा प्राप्त गरेपछि नगरले फेरि बाख्रा माग गर्ने महिला कृषकहरुलाई वितरण गर्दै आएको छ ।

शाखा प्रमुख दाहालका अनुसार नगरले बाख्रा वितरण गरेपछि खोर निर्माणसँगै बीमा, खोप, सिजनको घाँस र औषधि उपचारमा समेत सहयोग गर्दै आएको छ ।

सोही कार्यक्रम अन्तर्गत नगरपालिकाले सोमवार बिर्तामोड–२ स्थित ओम नवज्योती कृषक समूहमा आबद्ध महिलाहरुलाई ४५ वटा बाख्रा वितरण गरेको छ ।

बिर्तामोड–८ स्थित जीवन आधार कृषक महिला समूहले जिम्मा लगाएको ४५ वटा बाख्रा नवज्योतीलाई प्रदान गरिएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईंले उक्त समूहलाई बाख्रा हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा नगरप्रमुख प्रसाईंले कृषक महिलाहरुलाई आर्थिकरुपमा सबल बनाउन सघाउ पुर्याउने उद्देश्यले बाख्रा वितरण गर्दै आइएको बताइन् ।

उनले बाख्रालाई राम्रोसँग घाँस र पानी गर्दा मनग्य आम्दानी गर्न सकिने भन्दै कृषक महिलाहरुलाई मेहनत गर्न आग्रह गरिन् । यस्तै, बिर्तामोड–२ का वडाअध्यक्ष किशोरकुमार पौडेलले बाख्रा वितरण कार्यक्रम प्रभावकारी भएको बताए ।

बिर्तामोड नगरपालिका खसीको मासुमा आत्मनिर्भर बनेको भन्दै उनले थप बजारीकरणका लागि उत्पादनमा जोड दिन आग्रह गरे । बाँकी रहेका अन्य समूहलाई पनि बाख्रा वितरणको तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

मङ्गलवार, वैशाख २५, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर