२०८१ जेठ ६, आइतवार , १०:३२:०६ बजे

Sajhamanch
'

नश्ल सुधारसहितका बोका निःशुल्क पाउँदा सहारा किसान उत्साहित

सोमवार, वैशाख २४, २०८१

बिर्तामोड । सहारा नेपाल साकोसले नश्ल सुधारसहितको बिउ बोकाहरु निःशुल्क दिएपछि कृषकहरु उत्साह थपिएको छ ।

देशकै ठूलो र सफल उक्त साकोसले निःशुल्क बोका उपहार कार्यक्रमलाई निरन्तरता दिने क्रममा यसवर्ष पनि अभियानका रुपमा अघि बढाएको हो ।

अध्यक्ष हरि राजवंशीका अनुसार सो साकोसले आफ्ना कृषक समूहलाई उन्नत जातका बीउविजन तथा नश्ल सुधार गरिएका बाख्रा व्यवस्थापन गर्ने लक्ष्यसहित उक्त कार्यक्रम गर्दै आएको छ ।

संस्थामा आबद्ध शेयर सदस्यहरुलाई गाईगोठ, बाख्रागोठ, सुंगुरगोठ लगायत अभियान मार्फत किसानको आयस्रोतलाई परिवर्तन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उक्त साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए ।

उनका अनुसार सो अभियान यसवर्ष पनि इलाम, झापा, मोरङ लगायत ६ जिल्लामा सञ्चालन भइरहेको छ ।

सहारा नेपालको कृषि तथा वातावरण उपसमितिको प्रस्तावमा उक्त साकोसले विभिन्न जिल्लामा रहेकामध्ये छनोटमा परेका आफ्ना कृषक समूहलाई नश्ल सुधार गरिएका ४ वटा बोेका वितरण गरेको उपसमितिका प्रमुख डा कमलेश्वर भाटको भनाई छ ।

उक्त साकोसले मोरङको केराबारीस्थित लगनशिल सहारा कृषक समूह, झापाको गोलधापस्थित देउराली सहारा कृषक समूह, बुधबारेस्थित सृजनशिल सहारा कृषक समूह र इलामको दानाबारीस्थित बिहीबारे सहारा कृषक समूहलाई बोेका प्रदान गरेको हो ।

सो संस्थाले पहिलो चरणमा कृषक समूह छनोट गरी बोकाको छनोटपछि कृषि फर्महरुको अनुगमनसमेत गरेको थियो ।

त्यसपछि मोरङको रंगेलीस्थित कृषि फर्मबाट पाकिस्तानी र अफगानिस्तानी जातका बोकाहरु खरिद गरेर कृषक समूहलाई शनिवार वितरण गरिएको जनाइएको छ ।

समितिका संयोजक राजकुमार ओलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा झापाको गोलधाप र होक्सेस्थित कृषक समूहलाई बोका वितरण गरिएको थियो ।

त्यसैगरी, मोरङको केराबारीस्थित कृषक समूहलाई शनिवार नै पशुचिकित्सक विनोद दाहाल नेतृत्वको समूहले बोका वितरण गरेको हो ।

त्यस्तै, इलामको दानाबारीस्थित कृषक समूहलाई सोमवार बोका वितरण गर्ने कार्यक्रम रहेको फोकल पर्सन शंकर रिजालले बताए ।

पछिल्लो समय सहारा नेपालले कृषकहरुलाई लक्षित गरी विभिन्न समूह बनाएर प्राविधिक तथा अन्य सेवा निःशुल्क रुपमा प्रदान गर्दै आएको छ ।

संस्थाले आफ्नो कार्यक्षेत्रभित्र हालसम्म ४४ वटा कृषक समूह निर्माण गरी कृषकका घर–घरमै पुगेर पशु सेवा दिँदै आएको संयोजक ओलीले जानकारी दिए ।

सम्बन्धित खबर