बुद्धशान्ति । झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधिका लागि शनिवार बिर्तामोड युनाइटेड एफसी र पाहुना टीम भारतको मानेभञ्ज्याङ एफसी भिड्दैछन् ।
यसअघि भएको सेमीफाइनलमा बिर्तामोड युनाइटेडले बेलबारी एफसीलाई टाइब्रेकरमा ५/४ ले र मानेभञ्ज्याङले आयोजक आदर्श क्लबलाई २÷० ले पाखा लगाउँदै उपाधि भिडन्त तय गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद २ लाख तथा उपविजेताले नगद १ लाख रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिका सचिव दुर्योधन सिंह देवले बताए ।
उनका अनुसार प्रतियोगिताको उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, गोलरक्षक, स्ट्राइकर र उदियमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । वैशाख १५ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा भारतका दुुईसहित ८ वटा टीमले प्रतिष्पर्धा गरेका थिए ।
यसैबीच, उक्त प्रतियोगिताको फाइनल खेलको अवसर पारेर नेपाली राष्ट्रिय महिला टीमका कप्तान एन्जिला तुम्बापो सुब्बालाई सम्मान गर्न लागिएको आयोजक समितिका संयोजक मनेष दाहालले जानकारी दिए ।