२०८१ जेठ ४, शुक्रवार , १२:१०:२९ बजे

Sajhamanch
'

अल्वानिया पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने हल्दिबारीका पौडेल पक्राउ

शुक्रवार, वैशाख २१, २०८१

झापा । वैदेशिक रोजगारीका लागि युरोपको अल्वानिया पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिका–२ स्थित पाराखोपी निवासी ३८ वर्षीय हरि भन्ने भीमप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

पौडेलले १५ लाख ७ हजार रुपैयाँ ठगेको भन्दै मेचीनगर नगरपालिका– ११ स्वतन्त्र शिवाकोटी, विनोदकुमार ढकाल, मनकुमार बगा र डाकबहादुर मिश्रले संयुक्त रुपमा वैदेशिक रोजगार विभागमा उजुरी दिए थिए । विभागको पत्राचार अनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडले पौडेललाई पक्राउ गरेको डीएसपी चन्दले बताए । उनलाई आजै विभाग पठाउन लागेको उनको भनाई छ ।

विगत लामो समयदेखि गाउँघरमा एजेन्टको काम गर्दै आइरहेका पौडेलले पीडितहरूलाई युरोपको अल्वानियामा वायर हाउसका लागि टुना मार्केटमा काममा लगाइदिन्छु भनी ठगी गरेको भनी खुलेको छ ।

उनले त्यहाँ जान प्रतिव्यक्ति ६ लाख ५० हजार लाग्ने र मासिक तलब १ लाख २५ हजार हुन्छ भनी विश्वास दिलाएका थिए । दुई वर्षको काम लागि उनले भिषा बापत सुरुमा प्रति व्यक्ति एक लाख रुपैयाँ लिए । साथै सक्कल राहदानी पनि मागे । पछि फेरि भिषाका लागि प्रति व्यक्ति ५० हजार लिए । उनले सन् २०२३ मा नोभेम्बरमा भिषा पेपर हात लगाए । टिकट र श्रमका लागि फेरि उनले प्रति व्यक्ति ३ लाखको दरले मागे । केहीले रकम पनि बुझाए । टिकट पनि आयो भन्दै उनीहरूसँग थप रकम मागे गरे ।

उनले पटक पटक उडाउने मिति सार्न थाले । उनले जनवरी २२ मा उडाउने अन्तिम मिति दिए पनि उनीहरू अल्वानिया जान पाएन । त्यसपछि उनीहरू ठगीमा परेको भन्दै बैङ्क स्टेटमेन्टसहित विभाग उजुरी दिएको पत्रमा उल्लेख छ ।

सम्बन्धित खबर