२०८१ पौष २१, आइतवार , १०:१९:४७ बजे

Sajhamanch
'

तेस्रो आदर्श च्यालेन्ज कपः बिर्तामोड फाइनलमा

शुक्रवार, वैशाख २१, २०८१

बुद्धशान्ति । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै बिर्तामोड युनाइटेड एफसी झापाको बुद्धशान्तिमा जारी आदर्श च्यालेञ्ज कपको फाइलनमा प्रवेश गरेको छ ।

बिर्तामोडले बेलबारी एफसीलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराएको हो । बिर्तामोडका लागि योगेश गुरुङ, दिवस उराउ, अभिषेक गुुरुङ, आशिष चापागाईं र देवेन्द्र तामाङले गोल गरे ।

बेलबारीका लागि अशोक खवास, मनिष धिमाल, विवेक पौडेल र निशान लिम्बूले गोल गरे । बेलबारीका प्रशान्त अवस्थीको प्रहारलाई बिर्तामोडका गोलरक्षक सन्दिप लिम्बूले विफल बनाइदिए ।

खेलको २५ औँ मिनेटमा बिर्तामोड युनाइटेडका अभिषेक गुरुङको क्रस पासमा आशिष चापागाईंले गरेको प्रहार बेलबारीका गोलरक्षक पूर्ण चेम्जोङले उत्कृष्ट बचाउ गरे ।

३१ औँ मिनेटमा देवेन्द्र तामाङले पेनाल्टी एरिया नजिकैबाट गरेको फ्रि किकलाई गोलरक्षक चेम्जोङले पन्च गरेर बचाए ।

६८ औँ मिनेटमा वैकल्पिक खेलाडी सुजन विश्वकर्माले गरेको प्रहार गोलरक्षकले बचाउ गरेपछि खेलमा अग्रता लिनबाट बिर्तामोड बञ्चित भएको थियो ।

बेलबारीका तर्फबाट खेलको १८ औँ मिनेटमा वीरेन लिम्बूको शक्तिशाली प्रहारलाई गोलरक्षक सन्दिप लिम्बूले बचाए । ४१ औँ मिनेटमा वीरेन लिम्बूकै प्रहार विफल भयो ।

५२ औँ मिनेटमा निशान लिम्बूले गरेको प्रहार गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको म्यान अफ द म्याच विजेता टीम बिर्तामोड युनाइटेडका सन्दिप लिम्बू घोषित भए ।

उनले नगद ३ हजार रुपैयाँ पुरस्कार पाए । शनिवार हुने फाइनल खेलमा बिर्तामोड युनाइटेडले भारतको मानेभन्ज्याङ एफसीसँग प्रतिष्पर्धा गर्ने छ । वैशाख १५ गतेदेखि जारी प्रतियोगितामा भारतका दुुईसहित ८ टीमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख, ट्रफी, उपविजेताले नगद १ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिताको उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, गोलरक्षक, स्ट्राइकर र उदियमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने खेल समिति संयोजक मनेष दाहालले जानकारी दिए ।

शुक्रवार, वैशाख २१, २०८१ | खेलकुद, जिल्ला समाचार