२०८१ पौष २१, आइतवार , ०८:५८:०७ बजे

Sajhamanch
'

वाइसीएलले वैशाख २२ गते छैटौँ जिल्ला भेला गर्ने

शुक्रवार, वैशाख २१, २०८१

बिर्तामोड । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) झापाले यही वैशाख २२ गते छैटौँ जिल्ला भेला गर्ने भएको छ ।

पार्टीसम्बद्ध जनवर्गीय संगठन सुदृढीकरण अभियान अन्तर्गत उक्त संगठनलाई पुनर्गठन गर्न लागिएको बिहीवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

“पार्टीका सबै जबस मोर्चालाई चलायमान बनाउँदैछौँ, पार्टीलाई सशक्त जीवन दिने वाइसीएल आज शिथिल झैँ बनेको छ” पार्टीका जिल्ला संयोजक राजु आचार्य (अग्नि) ले भने, “यो संगठनलाई नयाँ शिराबाट पुनर्गठन गर्दैछौँ ।”

पछिल्लो चरणमा पार्टी केही कमजोर हुँदा त्यसको प्रभाव जबस मोर्चाहरुमासमेत देखापरेको भन्दै उनले थपे, ‘पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक लगायतको साझा संकल्पसहित वाइसीएललाई परिस्थिति अनुकूलको दर्बिलो संगठन बनाउने तयारीमा छौँ ।’

सो अवसरमा पार्टीका ३ नं. क्षेत्रीय इन्चार्ज डिल्लीराम घिमिरे (हिक्मत)ले जनयुद्धको जगमा प्राप्त युगान्तकारी परिवर्तनलाई संस्थागत गर्न चुनौती थपिएको बताए ।

‘हासिल भएको उपलब्धिलाई कमजोर बनाउने चलखेल भइरहेको छ, त्यसलाई निस्तेज पार्ने हाम्रो रणनीति छ, आम युवाको चाहना, माग र अपेक्षा अनुसार वाइसीएललाई सशक्त ढंगले ब्यूँताउँदैछौँ ।’, उनले भने ।

पार्टीको कोशी प्रदेश कमिटीका इन्चार्ज हरिबोल आचार्य (शितलकुमार) ले झापाको बिर्तामोडमा उद्घाटन गर्ने उक्त संगठनको भेलामा करीब १७ सयको सहभागिता रहने सम्मेलनमा बताइयो ।

संगठनको ७५ सदस्यीय जिल्ला कमिटी निर्माण गर्ने योजना रहे पनि कमिटी तत्कालका लागि ५३ सदस्यीय रहने सो अवसरमा जानकारी गराइयो ।

सो भेलामा जिल्लाका १५ वटा पालिकामध्ये नगरपालिकाबाट १ महिलासहित ४ र गाउँपालिकाबाट १ महिलासहित ३ जनाको प्रतिनिधित्व हुने संगठनका केन्द्रीय सचिव कर्मा पुलामीले बताए ।

सम्मेलनमा संगठनका जिल्ला संयोजक राजु दर्नालले जिल्ला भेलाका क्रममा खुला नृत्य प्रतियोगिता आयोजना हुने बताए । उनका अनुसार यसअघि लिइएको अडिसनबाट छनोट भएका ५ जना प्रतियोगीबीचको फाइनल राउण्ड हुने छ ।

प्रतियोगीले जनवादी र राष्ट्रवादी गीतमा नृत्य प्रस्तुत गर्ने बताइएको छ । कोशी प्रदेशका अन्य जिल्लाहरुमा पनि वाइसीएलको भेला जारी रहेको र क्रमशः देशका अन्य प्रदेशहरुमा पनि भेला आयोजना गर्ने तयारी संगठनले गरेको सम्मेलनमा बताइयो ।

शुक्रवार, वैशाख २१, २०८१ | जिल्ला समाचार, राजनीति