२०८१ जेठ ४, शुक्रवार , ०३:४६:४३ बजे

Sajhamanch
'

झापामा ९ महिनामा ४० हजार सवारी कार्वाहीमा, दुई करोड ७७ लाख राजश्व संकलन

मङ्गलवार, वैशाख १८, २०८१

झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्षको चैत मसान्तसम्म झण्डै तीन करोड राजश्व संकलन गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने चालक तथा सवारी साधनबाट कारवाही स्वरुप चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई करोड ७७ लाख ३६ हजार १४१ रुपैयाँ राजश्व संकलन भएको हो ।

यही अवधिमा ट्राफिक नियम उल्लङ्घनबापत साना ठुला गरी ४० हजार ९२७ वटा सवारीसाधनमाथि कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । कारवाहीमा पर्ने सवारीमा सबैभन्दा धेरै कार तथा जिप रहेको पनि न्यौपानेले बताउनुभयो ।

सो अवधिमा १३ हजार २९८ वटा कार–जिप कारवाहीमा परेका छन् भने २ पाङ्ग्रे सवारी मोटरसाइकल ११ हजार ६८० वटा, ट्रक ८ हजार ९२७ वटा, टेम्पो २ हजार ९२७ वटा, बस २ हजार ९५ वटा कारवाहीमा परेका हुन् । त्यस्तै २ हजार वटा ट्रयाक्टर ट्राफिक नियम उल्लङ्घन गरेबापत कारवाहीमा परेका छन् ।

गत आर्थिक बर्ष २०७९–८० मा झण्डै चार करोड राजश्व संकलन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्म तीन करोड ९५ लाख ५६ हजार रुपैयाँ राजश्व संकलन भएको थियो भने चैत मसान्तसम्म दुई करोड ६६ लाख ८७ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

मङ्गलवार, वैशाख १८, २०८१ | जिल्ला समाचार, समाज