२०८२ कार्तिक १९, मङ्गलवार , ०२:०४:४३ बजे

Sajhamanch
'

झापा गाउँपालिकामा ७ हजार हेक्टरमा मकै खेती

सोमवार, चैत २६, २०८०

झापा । यस वर्ष झापा गाउँपालिका क्षेत्रभित्र ७ हजार हेक्टर जमिनमा व्यावसायिक रूपमा उन्नत जातको मकै खेती गरिएको छ ।
गाउँपालिकाको कृषि विकास शाखाका अनुसार पालिकाभित्र यस वर्ष कृषकहरूले करीब ७ हजार हेक्टर क्षेत्रफलमा मकै खेती गरेका हुन् ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जु थपलियाले किसानको कृषि कर्मप्रति सम्मान व्यक्त गर्दै गाउँपालिकाले मल, बीउ, विषादीलगायत आवश्यक सामग्री सहयोग स्वरूप उपलव्ध गराएको बताइन्
त्यसपछि मकै लगायत कृषि उपजमा कृषक आत्मनिर्भर बन्ने वातावरण बन्दै गएको उनको भनाइ छ । मकै, धान र तरकारी खेती गर्ने किसानलाई पालिकाले ६० प्रतिशत सिंचाइका लागि विद्युत महसुल तिरिदिँदै आएको उनको भनाइ छ ।
झापा गाउँपालिकालाई प्रधानमन्त्री कृषि परियोजनामार्फत मकै पकेट क्षेत्र घोषणा गरिएपछि किसानलाई मकै खेतीतर्फ आकर्षित गर्न आवश्यक मल, बीउ र कृषि औजारमा गाउँपालिकाले अनुदान प्रदान दिँदै आएको कार्यवाहक अध्यक्ष थपलिया बताउँछिन् ।
कृषि शाखाका अनुसार गाउँपालिकाले मकै पकेट जोन क्षेत्र घोषणा गरेपछि मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, स्प्रे ट्याङ्की, मकै सुकाउने झुल र सिंचाईका लागि मोटर अनुदान सहयोगमा उपलब्ध गराउँदै आएको छ ।
पालिकाले सहयोग गरेपछि सो गाउँपालिकाभित्र बाँझो जमिन देखिन छोडेको छ भने किसानहरू उत्साहित हुँदै आत्मनिर्भर बन्दै गएका कृषि शाखाका नायव प्राविधिक सहायक रिता बर्देवाले जानकारी दिइन् ।
उनका अनुसार यस वर्ष मात्र झापा गाउँपालिकाभित्र लगाइएको मकैको क्षति नियन्त्रणका लागि शिविर सञ्चालन गरिएको छ । पालिकाभित्र आबद्ध ९२ वटा कृषि समूहलाई आवश्यक तालिम र अनुदानको व्यवस्था मिलाइएको बर्देवाले बताइन् ।
शाखाका अनुसार करीब २८ हजार बिघा जमिनमा लगाइएको मकै ३५ लाख मन भन्दा बढी उत्पादन हुन सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित खबर