२०८१ पौष ७, आइतवार , ०३:०४:१० बजे

Sajhamanch
'

नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघको प्रथम साधारणसभा सम्पन्न

आइतवार, चैत २५, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघले प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार किराँत कुलुङ भाषा संस्कृति उत्थान संघ नगर इकाई समितिले शिवसताक्षी ११ दुधे स्थित आदिबासी जनजाति सभाहलमा प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभामा नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघ शिवसताक्षीका अध्यक्ष इन्द्रकुवेर तोमाछा कुलुङले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै नेपाल सबै भाषा, धर्म, जात जातिहरुको साझा फुलबारी भएकाले कुलुङ जातिले पनि आफ्नो हक, अधिकारका लागि लड््न आवश्यक रहेको बताए । नेपालका रहेका धेरै जातिहरु मध्ये एउटा जाति कुलुङ पनि हो । उनले भने, हामी कुलुङहरुले पनि आफ्नो पहिचान र संस्कृतिलाई जर्गेना र आफ्नो जातिको उत्थानका लागि संस्था स्थापना भएको हो । उनले संस्थाले वर्ष भरी गरेको कामहरुको विवरण समेत प्रस्तुत गरेका थिए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघका केन्द्रिय सदस्य होम बहादुर चोक्धाक कुलुङ जातिको मूल थलो सोलुखुम्बुको उत्तरपूर्वी क्षेत्रको बुङ, छेस्खाम, गुदेल, सोताङ, पावै आदि विभिन्न स्थानमा रहेको बताए ।

कुलुङहरू आफ्नो मातृभाषामा ‘मा कुलु’ भन्छन् । त्यस्तै कतिपय विदेशी लेखक तथा अन्वेषकहरू र नेपालका अन्य जातजातिले यो क्षेत्रलाई ‘महाकुलुङ’ (ग्रेटर कुलुङ) भनेर चिन्छन । सोलुखुम्बुको महाकुलुङबाहेक संखुवासभा, भोजपुर, सुनसरी, इलाम, झापा, कास्की, सिराहा, मुस्ताङ, भक्तपुरलगायत २३÷२४ जिल्ला र भारतको दार्जिलिङ, सिक्किम, आसामलगायत ठाउँमा पनि कुलुङहरूको बसोबास रहेको केन्द्रिय सदस्य कुलुङले जानकारी दिए ।

वि.सं २०६८ को जनगणनादेखि मात्रै कुलुङ जातिको अलग्गै जातिगत तथ्यांक आउन थालेको हो । त्यसअघि कुलुङ जातिको अलग्गै जातीय तथ्यांक आएको थिएन, भाषिक तथ्यांक मात्रै आउने गरेको थियो । वि.सं २०६८ को जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ रहेको छ भने कुलुङ मातृभाषीचाहिँ ३३ हजार एक सय ७० छन । कुलुङ जातिले आफ्नो मातृभाषालाई ‘कुलु रिङ’ भन्छन् ।

साधारणसभामा किराँत कुलुङ भाषा संस्कृति उत्थान संघ नगर इकाई समितिमा रहेर कुलुङ जातिको भाषा, धर्म र संस्कृतिको जगर्नाको लागि काम गर्ने १३ जनालाई संस्थाले कदर पत्र प्रदान गरिएको संस्थाका सचिव शिवराज कुलुङले जानकारी दिए । साधारण सभाले भावी योजनाहरु समेत प्रस्तुत गरेको थियो । कार्यक्रमको सञ्चालन शिवराज कुलुङले गरेका थिए ।

आइतवार, चैत २५, २०८० | विविधा, समाज