
शिवसताक्षी । नेपाली कांग्रेस शिवसताक्षीले नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । शिवसताक्षी नगरपालिकाको घर नक्शा प्रकरणको सत्य तथ्य छानविन गरी दोषिलाई कार्वाहीको माग राख्दै नगर सभापति अशोक बस्नेतको नेतृत्वको टोलीले आज ध्यानाकर्षण पत्र बुझाएको हो ।
शिवसताक्षी नगरपालिकामा घर नक्शा पास प्रकरण झनै गम्भिर रहस्यमय बन्दै गइरहेको परिपेक्षमा नेपाली कांग्रेस शिवसताक्षीको गम्भिर ध्यानाकर्षण नगर सभापति अशोक बस्नेतले बताए ।
विभिन्न पत्र पत्रिका र सामाजिक सञ्जालहरुबाट शिवसताक्षी नगरपालिकाको कालो कर्तुतहरु छताछुल्ल भएपछि छानवीनका लागि २०८०÷०२ ÷०७ गते गठित ३ सदस्यीय समितिले लामो छलफल र छानवीन गरी प्रतिवेदन बुझाएपछि त्यसको सार्वजनिक गरी दोषि उपर कार्वाही गरी, राजश्व असुल गर्नुपर्ने र पीडितहरुलाई न्याय दिलाउनुको सट्टा सोही प्रकरणका लागि पुनः अर्को छानविन समिति गठन गरी समस्यालाई अर्कै तर्फ मोड्न खोजिएको आशंका सबै क्षेत्रबाट आइरहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
यस घर नक्शा प्रकरणको सही र सत्य कुरा के हो? सम्पूर्ण प्रकरणको निष्पक्ष छानविन गरी पीडितहरुको गुनासोलाई तत्काल सम्बोधन गर्न र हाल सम्म नियम अनुसार घर नकसा पास भएका रेकर्ड अविलम्व सार्वजनिक गर्ने प्रबन्ध मिलाउनको लागि नगरपालिकालाई दवाव स्वरुप पत्र बुझाएको सभापति बस्नेतले बताए । उनले भने, नगरपालिकाले गरेका राम्रा र रचनात्मक कामहरुमा हाम्रो पूर्ण समर्थन छ र तर बेथिति र ज्याजतिलाई निर्मम ढंगले हस्तक्षेप गर्न पनि नेपाली कांग्रेस पार्टीको तर्फ हामी सँधै तयार छौ ।
यता ध्यानाकर्षण पत्र बुझ्दै नगरपालिकाका प्रशासन प्रमुख तथा छानविन समितिका सदस्य डिल्ली नेपालले नगरपालिकाको नव गठित छानविन समितिले काम सुरु गरेको जानकारी दिएका छन् । पहिलो चरणमा नगरमा रेकर्ड भएका घर नक्साको नामावली सावर्जनिक गर्ने र त्यहाँ नाम नभएका सेवाग्राहीहरुलाई नगरपालिकामा उपस्थित गराएर छानविन गर्ने प्रशासन प्रमुखले बताए । यो प्रकरणमा सम्लग्न देखिएका सबैलाई नगरपालिकाले पत्र काटी उपस्थित गराउने उनको भनाई छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख कार्यालय बाहिर रहेकाले ध्यानाकर्षण पत्र प्रशासन प्रमुखलाई बुझाएको नेपाली कांग्रेस शिवसताक्षीले जनाएको छ ।