२०८१ माघ १९, शनिवार , ०१:२०:१६ बजे

Sajhamanch
'

कार्की मृत्यु प्रकरणः शव बुझ्न इन्कार, न्यायको सुनिश्चितता गर्न माग

मङ्गलवार, कार्तिक १४, २०८०

झापा । झापा, कमल –६ का ३६ बर्षिय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्न सबै दोषीलाई कानुनी दायरामा नल्याएसम्म उनको शव नबुझ्ने परिवारले अडान लिएका छन् ।

उनीहरुले कार्कीको मृत्यु अघिपछिका सबै तथ्यहरुलाई आधार बनाएर अनुसन्धानको घेरा फराकिलो बनाउन माग समेत गरेका छन् । मृतक कार्कीकी बहिनी अनिता कार्की कोइराला, पवित्रा बुढाथोकी, मामा खेमबहादुर बुढाथोकी लगायतले आज दमकमा पत्रकार सम्मेलन गर्दै कार्कीले आफूमाथि भएको अन्यायका बिषयलाई लिएर समयमै प्रहरी कार्यालयमा पुगेपनि न्यायको अनुभुति हुन नसकेको तथ्य आफूहरुसँग रहेको बताए ।

घटनापछि उनका ससुरा, पत्नी र वडाध्यक्ष भटट्राई फरार हुनु शंकास्पद रहेको परिवारको बुझाई छ ।

उनीहरुले कार्कीमाथी उनकी पत्नी चाहना, ससुरा पुण्यप्रसाद पोखरेल र वडाध्यक्ष नरेन्द्र भटट्राईले समेत कुटपिट गरेको प्रमाण आफूहरुसँग सुरक्षित रहेको पनि बताए । वडाअध्यक्ष भटटराईसहित तीन जना विरुद्धको किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेपछि वडाअध्यक्षको नाम हटाएर दुई जना विरुद्ध मात्र प्रहरीले कानुनी प्रकृया शुरु गरेको जानकारी आफूहरुले पाएको बताउँदै मृत्यु प्रकरणका दोषीहरुलाई उन्मुक्ति दिलाउने षडयन्त्र भइरहेको आरोप पनि लगाए ।

कार्की आइतवार साँझ गलामा डोरी लगाएको र डोरी काटेर तीन टुक्रा पारेको अवस्थामा घरमै फेला परेका थिए ।

पासो काटेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।

दशैंको महानवमीका दिन कार्की र उनकी श्रीमतीबीच झैझगडा हुँदा वडाध्यक्ष भट्टराई झगडा मिलाउन गएका थिए । त्यसबेला वडाध्यक्ष भट्टराईले हातपात गरेको आफन्तको आरोप रहेको छ । दशै विदामा घरआएका कार्कीमाथि श्रीमती,वडाअध्यक्ष भटटराईसहितले कुटपिट गरेको भन्दै दशैं टिका अर्थात ७ कार्तिकमा इलाका प्रहरी कार्यालय दमकमा निवेदन समेत दिएका थिए ।

सो निवेदनमाथि प्रहरीले कार्तिक १२ गते छलफल गर्ने भनेपनि छलफल रोकिएको थियो । छलफल गर्ने भनिएकै दिन कार्कीको रहस्यमयी मृत्युभएको हो । जिल्ला बन कार्यालय पाँचथरमा कार्यरत उनी तीन वर्ष देखि ससुरालीछेउमा घर बनाएर बस्दैआएका थिए । उनका एक जना नाबालिका छोरी भएको बताईएको छ ।

मङ्गलवार, कार्तिक १४, २०८० | विविधा, समाज

सम्बन्धित खबर