
शिवसताक्षीमा जारी प्रथम वडाध्यक्ष भलिबल कपको उपाधि आयोजक झापाका वडा नं. ७ ले हात पारेको छ । आज भएको फाइनल खेलमा वडा नं. ११ लाई हराउँदै वडा नं. ७ ले उपाधि हात पारेको हो ।
उपाधि उचालेसँगै वडा नं. ७ ले नगद रु २०हजार र उपविजेता बनेको वडा नं. ११ले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
त्यस्तै प्रतियोगितामा शिवसताक्षी नरपालिकाका कर्मचारीहरुको टिमलाई हराउँदै तेस्रो स्थान हासिल गर्ने शिवसताक्षी १ ले नगद ५ हजार प्राप्त गरेको थियो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी वडा नं. ११ का रमेश राई घाषित भए । उनले नगद २५ सय सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको खेल संयोजक कमल दर्नालले जानकारी दिए ।
त्यस्तै उत्कृष्ट सेटरमा विजेता टिमका नितेष बस्नेत, उत्कृष्ट बलकरमा प्रज्ज्वल लुइटेल, उत्कृष्ट लिब्रो जितेन्द्र श्रेष्ठ, उत्कृष्ट स्पाइकरमा मिलन कार्की घोषित भएका छन् । उनीहरुलाई जनही १ हजार प्रदान गरेको वडा नं. ७ ले जनाएको छ।प्रतियोगिताको समापन कार्यक्रममा शिवसताक्षी न.पा. ११ का खेलाडी रमेश खड्कालाई उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुले आर्थिक सहयोग प्रदान गरेका छन्
प्रतियोगिताको समापनमा स्थानीय भलिबल खेलाडी सुजन रिजाललाई सम्मान गरिएको छ । सुजन हाल वैदेशिक रोजगारीमा क्रममा देश बाहिर छन् । उनले नेपालमा रहँदा भलिबल खेलमा नयाँ खेलाडीहरु उत्पादनका निम्ति देखाउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । सम्मान पत्र सुजनका बुबा रेवतीप्रसाद रिजाललाई नगर उपप्रमुख नरमाया कार्की, वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले प्रदान गरेका थिए ।
प्रतियोगिता शिवताक्षी वडा नं. ७ स्थित भानु माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भएको थियो । कार्यक्रम वडा नं. ७ का वडाध्यक्ष भवानी विक्रम चेम्जोङ्गको अध्यक्षतामा भएको थियो ।