२०८१ पौष ५, शुक्रवार , ०८:५७:३८ बजे

Sajhamanch
'

सरकारी दमनको विरुद्ध शिवसताक्षी नगरपालिकाका कर्मचारीद्वारा धर्ना तथा नाराबाजी

मङ्गलवार, असोज २३, २०८०

शिवसताक्षी । सरकारले जारी गर्न लागेको संघीय ऐनको संसोधनको माग राख्दै आन्दोलनरत कर्मचारीलाई सरकारले गरेको चर्को प्रहरी दमनको विरोधमा शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुले विरोध प्रदर्शन तथा धर्ना दिएका छन् ।

सोमबार काठमाडौंमा सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि निर्मम लाठी प्रहार गरेर दमन गरेको थियो । घटनामा दर्जनौं कर्मचारी घाइते भएका थिए ।

कर्मचारी कुटपिट अन्त्य गर, कर्मचारी माथिको दमन बन्द गर लगायतका नाराबाजी गर्दै मंगलबार नगरपालिकाको मुख्य प्रवेशद्वारमा विरोध कार्यक्रमको आयोजना गरियो ।

विरोध कार्यक्रममा संघर्ष समितिका संयोजक विमल बाँस्कोटाले स्थानीय तहका कर्मचारीहरुका प्रतिनिधि र सरोकारवाला निकायको सहभागता र पर्याप्त छलफल विना कालकोठरीमा बसी तयार गरेको मस्यौदानलाई स्थानीयतहका कर्मचारीहरुले नमान्ने बताए । सरकारले तत्काल जारी गर्न लागेको ऐन संसोधन गरेर एकीकृत निजामति ऐन राखिनु पर्ने बताए । उनले अन्दोलनरत हाम्रा साथीहरुलाई राज्यबाट भएको दमनकारी घटनाको निन्दा गर्दै कर्मचारीहरूको जायज मागलाई चाँडैं सम्बोधन हुनुपर्ने धारणा राख्नु राखेका थिए ।

नगरपालिकाका कर्मचारीहरुले नगरपालिका गेटमा धर्ना तथा नाराबाजी गरेका थिए । उनीहरुले २ घण्टा पेन डाउन गरेका छन् भने, सरकारको विरोध गर्दै कालो पट्टी बाँधेर सेवा प्रवाह गरिरहेका छन् ।

सरकारले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै अहिले देशैभर स्थानीय तहमा कार्यरत कर्मचारीहरू आन्दोलनरत छन् ।

मङ्गलवार, असोज २३, २०८० | समाज

सम्बन्धित खबर